• ८ जेठ २०८१, मङ्गलबार

नगरपालिकाको साढे दुई करोड भाडा उठ्न बाँकी

blog

टीकापुर नगरपालिका कार्यालयमा भाडा घटाउने र तिर्ने विषयमा छलफल गर्दै जनप्रतिधि र व्यवसायी । तस्बिरः एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना

टीकापुर, वैशाख २८ गते । टीकापुर नगरपालिकाले भाडामा लगाएका भवन र सटर भाडावापत उठाउन बाँकी बक्यौता एक करोड ८५ लाख ९० हजार ५८३ पुगेको छ ।

यो नगरपालिकाले भाडामा लगाएका ९३ वटा सटर (कोठा) मध्ये ८१ वटा पसलमा बसेका व्यवसायीले २०८० असार मसान्तसम्म तिर्न बाँकी रहेको रकम हो यो । यसमा १६ लाख ५६ हजार ४१७ रुपियाँ जरिवाना वापत रकम भएको बताइएको छ ।  नगरपालिकाको राजस्व शाखाका प्रमुख नन्दबहादुर केसीका अनुसार मासिक सात लाखका दरले चालू वर्षको दश महिनाको ७० लाख थपिदा भाडा बक्यौता रकम साढे दुई करोड रुपियाँ नाघेको छ ।

सबैभन्दा बढी पदम अछाम ज्वैलर्सका सञ्चालक रतनबहादुर टमट्टाको मासिक २७ हजारका दरले हुन आउने भाडा दश लाख ३२ हजार ७४ रुपियाँ पुगेको छ । फैमली ट्रेडर्सका सञ्चालक लोकेन्द्र चपाईको मासिक २३ हजार १०० का दरले दश लाख दश हजार ४७ रुपियाँ बक्यौता पुगेको छ ।

२०७५ पुसअघि बोलकबोलमा बढाबढ गरी सटर भाडामा लिएका व्यवसायीबाट लामो समय भाडा नउठेपछि टीकापुर नगर कार्यपालिकाको २०७७ पुस २५ गतेको बैठकले माघदेखि लागू हुनेगरी २७ जना व्यवसायीको भाडा घटाएको थियो । भाडा घटेपछि मासिक दुई लाख दश हजार ६०० रुपियाँ राजस्व नोक्सान भएको थियो । 

नगरपालिकाले भाडा घटाए पनि महालेखापरीक्षकको २०७८ भदौ ४ मा सार्वजनिक भएको आ.व. २०७६÷७७ को प्रतिवेदनमा सम्झौताको शर्तअनुसार उठ्न बाँकी ५९ लाख ६६ हजार असूलउपर गर्न सुझाएको थियो । यस विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो लिएपछि नगरपालिकाले व्यवसायीले पहिले बोल कबोल गरेअनुसारकै भाडा बुझाउन व्यवसायीलाई पत्राचार गरेको थियो । 

‘नगरपालिकाले भाडा घटाइसकेपछि हामीले खुरुखुरु भाडा तिरेका थियौं, कोरोना पनि आयो नगरपालिकाले पनि पहिलेकै अनुसार भाडा तिर्न भनेपछि तिर्न सकेनौं’ आरती एण्ड आकाश ट्रेडर्सका सञ्चालक भागीरथी देउवाले भन्नुभयो, ‘अब पाँच लाख भाडा पुग्यो कसरी तिर्ने ?’ 

यस्तै न्यू प्रकाश साइकल स्टोरका सञ्चालक द्वारिका तिमिल्सिना भन्नुहुन्छ,  ‘पहिले धेरै कबोल गरेकाहरुको भाडा घटाएको देखेर बिस्तारै हाम्रो पनि घटला भनेर ३२ हजार ५११ कबोल गरे नघटने भएपछि गत वर्ष नै भाडा घटाइ पाउँ नत्र छोडछु भनेर निवेदन दिएँ न भाडा घट्यो न छोडायो । मेरो भाडा पाँच लाख पुग्यो कसरी तिर्ने ?’

नगरपालिकामा ताला

भाडा घटाउनु पर्ने माग गर्दै टीकापुर नगरपालिकाको भवनमा भाडामा बसेका ब्यापारीहरुले शुक्रबार दिउँसो नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । 

मूल ढोकामा तालाबन्दी गरी भित्रै भएको छलफलमा नगरपालिकाले जरिवाना छुट दिनुपर्ने, तत्काल भाडा तिर्न सक्ने अवस्था नभएकाले बैंक ग्यारेन्टी लिई केही महिनासम्म किस्ताबन्दीमा तिर्ने सुविधा दिनुपर्ने, केही सटरको हाल कायम भाडा दर अत्याधिक भएकाले पुनः टेण्डर गर्नुपर्ने र २०८१ साउन १ देखि लागू हुनेगरी असार मसान्तभित्र नयाँ टेण्डर गरीसक्ने सहमति भएको छ । सहमतिपछि साँझ ताला खुलेको छ ।

टीकापुर उद्योग वाणिज्य संघका उपाध्यक्ष सन्तोष खड्काले संघको बैठकबाट निर्णय लिइ नगरपालिकासँग सहजीकरण गर्ने र व्यवसायीलाई विस्थापित हुनबाट जोगाउने बताउनुभयो । नगर प्रमुख रामलाल डंगौरा थारुले आफू व्यसायीहरुको हितमै रहेको तर कानुनमा मिल्नेसम्मको सहयोग गर्न तयार रहेको बताउनुभयो ।