• १३ असोज २०८१, आइतबार

‘योजना बनाउनेभन्दा बाँड्ने र खाने मनोविज्ञान’

blog

काँक्रोविहार समाचारदाता 

सुर्खेत, वैशाख २९ गते  । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राष्ट्रिय ढुकुटीको वितरण असमान रहेको टिप्पणी गर्नुभएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा शुक्रबार आयोजित सङ्घीयता सुदृढीकरण तथा संविधान कार्यान्वयन विषयक कार्यशाला गोष्ठीमा सहभागी भएका मुख्यमन्त्री कँडेलले राज्यकोषको असमान वितरणका कारण कर्णाली पछाडि परेको बताउनुभयो । 

पर्याप्त जनशक्ति परिचालन गरी कर्णाली प्रदेशको समृद्धि र विकासको सपना पूरा गरिने दाबी पनि उहाँले गर्नुभयो । उहाँले कुल बजेटको दुई प्रतिशत मात्रै आम्दानी हुने कर्णालीमा चाहेको विकास हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “योजना छनोटमा गतिलो थिति बस्न सकेन । योजना माग्न जनताले आफैँ मन्त्रालय धाउनुपर्ने अवस्था अन्त्य हुनु पर्छ । त्यसरी योजना माग्न आउनेमा पनि योजना बनाउनेभन्दा बाँड्ने र खाने मनोविज्ञान छ ।”

उहाँले जलस्रोतका हिसाबले धनी कर्णालीलाई सदुपयोग गर्न नसकिएको बताउनुभयो । उहाँले कर्णाली जलउपयोगी स्रोतमा आधारित योजना अभिलेखमा थुप्रै भेटिए पनि व्यावहारिक कार्यान्वयनमा नभेटिएको बताउनुभयो । 

त्यसै गरी छिन्चु समाचारदाता नवीन सुवेदीका अनुसार मुख्यमन्त्री कँडेलले सार्वजनिक जीवनमा प्रभाव राख्ने क्षेत्रमा समस्या देखाएर कोही पन्छिन नमिल्ने बताउनुभएको छ । बिहीबार निर्माण व्यवसायीसँगको छलफलमा कँडेलले सुर्खेत पश्चिममा निर्माण गरिरहेको बड्डीचौर–खम्बगाडे सडकसहित विकास निर्माणको अवस्था बुझ्दै समस्या देखाएर नागरिकलाई दुःख नदिन निर्देशनसमेत दिनुभयो । सडक स्तरोन्नतिमा देखा परेका अल्झनका सम्बन्धमा नीतिगत गर्न मिल्ने र सकिने सबै प्रव्रिmयामा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै कँडेलले सो सडक निर्माणको कामलाई गति दिन आग्रह गर्नुभयो । विकास सहज बनाउनेभन्दा पनि अनेक बखेडा निकालेर नागरिकलाई दुःख दिने काम कुनै पनि हालतमा स्वीकार्य नहुने मुख्यमन्त्री कँडेलको भनाइ थियो । 

मुख्यमन्त्रीसँगको छलफलमा निर्माण व्यवसायी दिक्पाल शाहीले रुख कटानमा वनको अवरोध, जग्गा भोगाधिकार, स्थानीय तथा पञ्चपुरी नगरपालिकाको असहयोगका कारण आफूले काम गर्न नसकेको दाबी गर्नुभयो । सडकको ग्राभेलका लागि प्रयोग गरिने नदीजन्य सामग्री पञ्चपुरी नगरपालिकाले निकाल्न नदिएपछि स्तरोन्नतिको काम गर्न नसकेको उहाँको दाबी थियो । 

छलफल कार्यक्रममा चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले काम सक्नुपर्ने मिति नजिकिँदै जाँदा दुई वर्षसम्म पनि स्थानीयस्तरमा काम गर्ने वातावरण बनाउन नसक्नु ठेकेदार कम्पनीको गैरजिम्मेवारीपन रहेको आरोप लगाउनुभयो ।

विसं २०५१ मा सुर्खेत–बाबियाचौर–बेनीघाट सडक निर्माण सुरु भएको थियो । पूर्वको झापालाई पश्चिमको डडेलधुरासँग जोड्ने सडकका रूपमा लिइएको यो सडक निर्माण भएको लामो समयसम्म पनि स्तरोन्नति हुन नसक्दा जिल्लाको पश्चिम क्षेत्रका बासिन्दा अझै पनि धुलाम्मे र हिलाम्मे भई यात्रा गर्न बाध्य छन् । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने यो सडकमा कैयौँले अनाहकमा ज्यानसमेत गुमाएका छन् । साँघुरो सडक, खाल्टाखुल्टी र खोलाका कारण यहाँ जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।