• १४ वैशाख २०८१, शुक्रबार

बज्र गुरु मन्त्र जपमा बिस हजार भक्तजन सहभागी

blog

बज्र गुरु मन्त्र जप पूजा लामा गुरु लगायतका सहभागी । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन १८ गते । ताप्लेजुङमा आयोजित बज्र गुरु मन्त्र जप पूजामा करिब बिस हजार बढी भक्तजन सहभागी भएका छन् । भौतिक सुख तथा मानव शान्तिको कामना गर्दै आयोजना गरिएको तीन दिने चौथो बज्र गुरु मन्त्र जप पूजामा उक्त सङ्ख्यामा भक्तजन सहभागी भएका हुन् । 

सोमबार सुरु भई बुधवार सम्पन्न तीन दिन बज्र गुरु मन्त्र जप पूजामा विभिन्न आस्थाका २० हजार बढी भक्तजन सहभागी भएका मन्त्र जप पूजा आयोजक समितिका सदस्य–सचिव पासाङ रिता शेर्पाले बताउनुभयो । शेर्पाका अनुसार बौद्ध मार्गीहरूसँगै हिन्दु, किराँतलगायत धर्ममा आस्था राख्ने नागरिक समेतले मन्त्र जप पूजामा सहभागिता जनाएका छन् । 

प्रमुख लामा जोपा रिम्पोछेले मन्त्र जप पूजामा तीन दिनसम्म नै प्रवचन दिनुभएको शेर्पाले जानकारी दिनुभयो । यस्तै औतारी लामा गुरु तीन जना, आचार्य लामा गुरु तीन जना र अन्य लामा गुरु तीन सय जनाले पूजामा पाठ प्रवचन गर्नुभएको उहाँले बताउनुभयो । 

यता मन्त्र जप पूजामा करिब ७५ लाख रुपियाँ आर्थिक सहयोग सङ्कलन भएको पनि सदस्य–सचिव शेर्पाले जानकारी दिनुभयो । सङ्कलित रकममध्ये मन्त्र जप पूजा व्यवस्थापन लगायतमा ५० लाख जति खर्च हुने र बाँकी २५ लाख रुपियाँ नाफा अर्थात् बचत हुने अवस्था रहेको उहाँले बताउनुभयो । पूजाको यथार्थ आयव्यय विवरण आउनलाई भने केही दिन लाग्ने उहाँको भनाइ छ । 

भौतिक सुख तथा आध्यात्मिक चिन्तनका माध्यममार्फत मनमा शान्ति मिल्ने उद्घोषसहित यहाँ बज्र गुरु मन्त्र जप पूजा आयोजना गरिँदै आएको छ । यसअघि मन्त्र जप पूजाको पहिलो, दोस्रो र तेस्रो संस्करण सम्पन्न गरिएका छन् । मन्त्र जप पर्यटकीय स्थल सुकेटारस्थित सिरेटो हिल रिपोर्ट परिसरमा आयोजना गरिएको थियो । 

बज्र गुरु मन्त्र जप पूजा बौद्ध धर्मसँग सम्बन्धित भए पनि सबै धर्ममा आस्था राख्ने भक्तजनको सहभागिताले साझा कार्यक्रमजस्तै बन्दै गएको छ । सबै धर्मको उद्देश्य मानिसलाई नैतिकवान् बनाउने र दया, माया तथा करुणा भाव प्रदर्शन गर्ने भएकाले धार्मिक सद्भावसहित मन्त्र जप पूजा भक्तजनको आकर्षणको केन्द्र बन्दै गएको आयोजक समितिका अध्यक्ष थुप्तेन जिग्डोल लामाको भनाइ छ ।