• १४ वैशाख २०८१, शुक्रबार

आत्मरक्षाका लागि प्रशिक्षण लिँदै विद्यालयका किशोरी

blog

‘किशोरी आत्मरक्षा तालिम’ को शुभारम्भ कार्यक्रममा सहभागीहरु । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, फागुन १६ गते । झापाको कमल गाउँपालिकाले माध्यमिक तहमा अध्यनरत किशोरीलाई लक्षित गरी ‘किशोरी आत्मरक्षा तालिम’ सुरु गरेको छ । एकान्तमा हिड्दा होस् या जुनसुकै समयमा पनि आफु्माथि आक्रमण भएको अवस्थामा उनीहरुले आफ्नो सुरक्षा आफै गर्न सक्नेगरी तालिममा सीप सिक्न लागेका हुन् । 

समाजमा यौन दूब्र्यवहारका घटनाहरु बढिरहेको, किशोरीहरु हिडडुल गर्दा डराउनु पर्ने अवस्था रहेको अवस्थामा आफुमाथि कुनियत राख्नेबिरुद्ध बोल्न र शारीरिक रुपमा समेत प्रत्याक्रमण गर्ने कला तालिम किशोरीहरुले सिक्नेछन् । पाँच दिने तालिम यहाँका सबै सामुदायिक बिद्यालयमा प्रदान गरिने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले मंगलबार महेन्द्ररत्न मावि समयगढमा किशोरी आत्मरक्षा तालिमको उदघाटन गर्नुहुँदै पालिकाभित्र कोही पनि किशोरीले असुरक्षित महसुस नगरुन् भन्ने आफुहरुको चाहना रहेको बताउनुभयो । “अब सहेर वा निरीह भएर बस्नु हुँदैन र प्रतिरक्षाका लागि किशोरीहरु तयार रहनुपर्छ”, उहाँले भन्नुभयो ।

यसका लागि तालिममा आधारभूत सीप तथा कौशल र ज्ञान समेत प्रदान गरिने राईको भनाइ छ । हामी सबै किशोरीको सुरक्षाका लागि र उनीहरुको सम्मुन्नत भविष्यका लागि काम गर्छौ उहाँले भन्नुभयो । मार्सल आर्ट लगायतका आत्मरक्षाको आधारभूत तालिममा किशोरीहरुको उत्साह पनि देखिएको उहाँले बताउनुभयो । 

पालिका उपाध्यक्ष प्रमिला न्यौपानेले पालिकाभित्रका किशोरीलाई सहज रुपमा अध्ययन गर्ने अवस्था सिर्जना गर्दै भविष्य निर्माणमा कुनै पनि अवरोध नल्याउन ब्यवहारिक किसिमका तालिम तथा सीपहरु प्रदान गर्ने लक्ष्य राखिएको बताउनुभयो । “किशोरीहरुका समस्याका बिषयमा हामी जानकार छौं, ती समस्याहरु सामधान गर्न आवश्यक सहयोग गर्छौ” उहाँले भन्नुभयो ।