• १४ वैशाख २०८१, शुक्रबार

बेनी अस्पतालमा ज्येष्ठ नागरिक उपचार कक्ष

blog

बेनी समाचारदाता

म्याग्दी (बेनी), फागुन ४ गते । स्थानीय ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन बेनी अस्पतालमा ज्येष्ठ नागरिक उपचार कक्ष सञ्चालन गरिएको छ। सङ्घीय सरकारको सहयोगमा अस्पताल व्यवस्थापन समितिले सोमबारदेखि ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको उपचारका लागि बहिरङ्ग कक्ष तथा वार्ड सञ्चालनमा ल्याएको हो।

अस्पतालको बहिरङ्गतर्फ र भर्ना भएर उपचार गराउनुपर्ने भएमा वार्डतर्फ ज्येष्ठ नागरिकका लागि छुट्टै उपचार कक्ष सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो। 

अस्पतालमा उपचारमा आउने ज्येष्ठ नागरिकलाई छुट्टै कक्षमा उपचार सेवासँगै उमेर समूह र आर्थिक अवस्थाका आधारमा स्वास्थ्य परीक्षणतर्फ थप छुट सहुलियतको समेत व्यवस्था गरिएको अस्पतालका प्रमुख डाक्टर शङ्करराज लामिछानेले जानकारी दिनुभयो। 

अस्पतालमा ज्येष्ठ नागरिक कक्ष सञ्चालनका लागि सङ्घीय सरकारबाट २१ लाख रुपियाँ बजेट प्राप्त भएको छ। उक्त बजेटमध्ये ३० प्रतिशत भौतिक संरचना र औजार खरिदमा खर्च गरिएको र ७० प्रतिशत बजेट बिरामीको औषधि उपचारमा खर्च हुने अस्पतालले जनाएको छ। ज्येष्ठ नागरिक परिचयपत्र र नागरिकताको आधारमा ६० वर्ष उमेर पुगेकाहरूलाई उक्त सुविधा प्रदान गरिने जनाएको छ।

अस्पतालको सामाजिक सेवा एकाइअन्तर्गत ६० देखि ६९ उमेरसम्मकालाई ५० प्रतिशत, ७० देखि ७९ वर्षसम्मकालाई ७५ प्रतिशत, ८० देखि ८४ वर्षसम्मका लागि निःशुल्क र ८५ वर्षमाथिका नागरिकका लागि सबै सेवा निःशुल्क प्रदान गरिने अस्पतालका डाक्टर निकेश श्रेष्ठले जानकारी दिनुभयो।  ज्येष्ठ नागरिक उपचार कक्षको आरम्भ गर्दै नागरिक समाजका संयोजक सुदर्शनकुमार श्रेष्ठले सेवाले ज्येष्ठ नागरिकले सहज, सरल र सर्वसुलभ तवरले आधारभूत स्वास्थ्य उपचारको प्रत्याभूति दिलाउने विश्वास व्यक्त गर्नुभयो।