• १४ वैशाख २०८१, शुक्रबार

क्यानको विवादास्पद निर्णयविरुद्ध प्रदर्शन

blog

काठमाडौँ, माघ २२ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले बलात्कार मुद्दाका अभियुक्त सन्दीप लामिछानेलाई खेलमा फर्काएको विरोधमा युवाले शनिबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ।  प्रदर्शनकारीले क्यान र सन्दीपलाई बहिष्कार गर्नुपर्ने माग गरेका छन्।

नाबालिगलाई बलात्कार गरेको अभियोग क्रिकेट खेलाडी लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा विचाराधीन रहेको अवस्थामा क्यानले सन्दीपलाई राष्ट्रिय टिममा फर्काउने निर्णय गरेको थियो। आरोपी लामिछानेलाई क्यानले शुक्रबारदेखि अभ्यास खेलमा सहभागी बनाएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएको छ।

नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि कारागार चलान भएका लामिछानेलाई उच्च अदालत पाटनले सर्तसहित रिहा गर्न आदेश दिएको थियो। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सामाजिक सञ्जालमार्फत बलात्कार अभियुक्तलाई कुनै पनि खालको उन्मुक्ति ग्राह्य नहुने धारणा व्यक्त गर्दै बलात्कार अभियुक्तलाई क्‍यानले निलम्बन फुकुवा गर्नु आपत्तिजनक रहेको धारणा व्यक्त गर्नुभएको छ। उहाँले लामिछानेको निलम्बन फुकुवा गर्ने तथा राष्ट्रिय टिममा सहभागी गराउने निर्णय पुनर्विचार गर्न क्यानको ध्‍यानाकर्षण गराउनुभएको छ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बलात्कार आरोप लागेका लामिछानेको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय गलत भएको बताउनुभएको छ।