• २९ वैशाख २०८१, शनिबार

क्रसर उद्योग बन्द हुँदा नदी भए कञ्चन

blog

अमरराज नहर्की

तनहुँ, माघ १० गते । हिउँदमा पनि वर्षाको भेल आउँदाजस्तो धमिलो बग्ने सेती नदी हाल कञ्चन देखिएको छ। छुनसमेत घिनाउनुपर्ने नदीको पानी यति बेला सङ्लिएर सिधै अँजुलीमा लिएर पिऊँपिऊँजस्तो भएको छ। 

तनहुँ जिल्लामा अवैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द भएपछि नदी कञ्चन बनेको हो। उद्योग बन्द भएपछि नदीआसपासका जिल्लावासीले पुरानै अवस्थाको कञ्चन सेती देख्न पाएका हुन्। पानी सफा भएपछि यति बेला स्थानीयले नदी किनारमा घाम ताप्दै नुहाउन र लुगा धुन पाएका छन्। 

क्रसर बन्द भएपछि दिनरात लेदो बग्ने नदीमा सफा सेतो पानी बगेको शुक्लागण्डकी नगरपालिका–८ का वेदप्रसाद पोख्रेलले बताउनुभयो। “क्रसरले बालुवा धुँदा, निकाल्दा सधैँ धमिलो हुन्थ्यो, उद्योग बन्द भएपछि कञ्चन पानी देख्न पाइएको छ,” पोख्रेलले भन्नुभयो। 

पहिला नदीको पानी छुनलायक थिएन। नदीमा नुहाउन घिनाउनुपर्ने अवस्था रहेकोमा अहिले सफा पानी बग्दा खुसी लागेको पोख्रेल बताउनुहुन्छ। क्रसरबाट निस्कने फोहोर सिधै नदी तथा खोलामा मिसाउन नपाउने मापदण्ड भए पनि पालना नहुँदा धमिलो हुने गरेको उहाँले बताउनुभयो। 

ढुङ्गा, गिटी, बालुवाजस्ता नदी पैदावर प्रशोधन गरेको फोहोर पानी क्रसर उद्योगले सिधै सेतीमा मिसाउँदा नदीमा लेदो बग्ने गरेको स्थानीय बताउँछन्। क्रसर उद्योगमा तीन तहको पोखरीमा पानी थिग्राएर सङ्लो भएपछि मात्र नदीमा मिसाउन पाइन्छ तर यहाँ उद्योगले सिधै लेदोयुक्त धमिलो पानी नदीमा मिसाउने गरेका छन्। जिल्लामा अवैध रूपमा सञ्चालनमा रहेका २० क्रसर उद्योग बन्द गराइएको छ। गत पुस २० गते गृह मन्त्रालयले मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेबमोजिम बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

पुरानो मापदण्डअनुसार दर्ता भएको र हालको मापदण्ड नपुगेकाले नवीकरण नभएका तथा अन्य मापदण्ड पालना नगरी सञ्चालनमा रहेका जिल्लामा सञ्चालनमा रहेका २० वटा क्रसर उद्योगमा ताला लगाइएको जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अनुगमन समितिका संयोजक शान्तिरमण वाग्लेले जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी र १० वटै पालिकाको प्रमुखको सहभागितामा बसेको जिल्ला अनुगमन समितिको बैठकबाट मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्ने निर्णयअनुसार सबै क्रसर उद्योगमा ताला लगाएको समन्वय प्रमुख वाग्लेले जानकारी दिनुभयो। 

मन्त्रालयको परिपत्र प्राप्त गरेपछि गत पुस २१ गते जिल्लाका २० क्रसर उद्योग बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो। ढुङ्गा, गिटी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरीत कतिपय क्रसर उद्योग सञ्चालन हुँदै आएकाले बन्द गरिएको उहाँले जानकारी दिनुभयो।