• १५ वैशाख २०८१, शनिबार

युवामा हृदयाघातको समस्या बढ्दै

blog

काठमाडाैँ, माघ ९ गते । पछिल्लो समय युवावस्थामा पनि हृदयाघात हुने सम्भावना बढ्दै गएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीका अनुसार हृदयाघात भएर अस्पतालमा आउनेमध्ये ४५ वर्ष नपुगेका १२ प्रतिशत युवा छन् ।

हृदयाघात भएका अस्पतालमा आएका अधिकांश बिरामी सुर्तीजन्य प्रदार्थको सेवनले भएको पाइएको डा. अधिकारीको भनाइ छ ।

निष्क्रिय जीवनशैली जङ्क फुडको प्रयोग गर्ने बढी, र चिन्तायुक्त जीवनशैली बिताउने कारणले गर्दा युवावस्थामा हृदयाघात हुने बिरामीको सङ्ख्या बढ्दै गएको डा. अधिकारी बताउनुहुन्छ ।

डा. अधिकारीका अनुसार शारीरिक कसरत गर्ने मानिसलाई शारीरिक कसरत नगर्ने मानिसको तुलनामा हृदयाघात हुने सम्भावना कम हुन्छ ।

एक सय जना मानिसले नियमित व्यायम गर्छन् भने एक जनालाई मात्र हृदयाघात हुनसक्ने सम्भावना हुन्छ । तर शारीरिक कसरत नगर्ने एक सय जनामध्ये १० जनालाई हृदयाघात हुने सम्भावना हुन्छ ।

नेपालमा विभिन्न अस्पतालमा गरेको अध्ययनअनुसार नेपालमा हृदयाघातबाट हुने मृत्युदर ७ देखि १० प्रतिशत देखाएको छ । घरमा नै हृदयाघात भएर २५ प्रतिशतको मृत्यु हुने उहाँ बताउनुहुन्छ ।

अध्ययनले ५० प्रतिशत मानिस हृदयाघात भएको १२ घण्टा पछिमात्र अस्पतालमा पुग्ने देखाएको छ । हृदयाघातको लक्षण देखिएको १२ घण्टाभित्र अस्पताल आएमा एन्जियोप्लाष्टिकको माध्यमबाट नसा खोल्दा धेरैलाई बचाउन सकिने उहाँले बताउनुभयाे।

डा. अधिकारीका अनुसार मुटुले शरीरमा रगत पम्प गरेर शरीरभर रगत पुर्‍याउने काम गर्छ । यसलाई काम गर्नको लागि पनि रगतको आवश्यक पर्छ । त्यो रगतलाई तीनवटा नसाको सहायताले पुर्‍याएको हुन्छ ।

तीन तीनवटा नसामध्ये कुनै एउटा नसा बन्द भएमा मुटुले जति रगत पाउनुपर्ने हो त्यति रगत पाउन सकेन भने मुटुको मांसपेशीहरु मर्छ र हृदयाघात हुने चिकित्सक बताउँछन् ।

लक्षण

हृदयाघातको प्रमुख लक्षण नै छाती दुख्ने हो । त्यो बाहेक चिटचिट पसिना आउने सास फर्ने गाह्रो हुने, मुटु ढुकढुक गर्नेजस्ता लक्षण देखिने गर्दछन् । बेहोस हुने होइन । सबैभन्दा बढी समस्या छाती दुख्ने । उमेर बढ्दै जाँदा हृृदयाघात हुने सम्भावना पनि बढ्दै जान्छ ।

चुरोट खाने मानिसलाई चुरोट नखाने मानिसको तुलनामा हृदयाघात हुने सम्भावना बढी हुन्छ । मोटोपन भएका मानिस, उच्च रक्तचाप, मधुमेह , कोलेस्टोलका बिरामी निष्क्रिय जीवनशैली बिताउने, चिल्लो प्रदार्थको सेवन गर्ने मानिसलाई बढी हृदयाघात हुने जोखिम बढी हुन्छ। त्यसका अतिरिक्त वंशाणुगत, उमेर बढ्दै जादा हृदयाघात हुने सम्भावना बढी हुन्छ । हृदयाघात हुँदा मुटुलाई रगत वितरण गर्ने नसा पूर्ण रुपमा बन्द हुन्छ ।

यस्ता बिरामीलाई सकेसम्म छिटो प्राइमेरी एन्जियोप्लाष्टिको माध्यमबाट खोल्न चिकित्सकको सुझाव छ ।

उहाँ भन्नुहुन्छ, “यो उपचार उत्कृष्ट उपचार विधि हो । यस्तो सेवा छाती दुखेको १२ घण्टाभित्र दिनुपर्छ । त्यसो गर्दा धेरै असर गर्न पाउँदैन । मृत्युदरलाई कम गर्न सकिन्छ ।”

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा.चन्द्रमणि अधिकारी हृदयाघात भनेको के हो जाडोमा हृदयघातका बिरामी किन बढ्छन् भन्ने विषयमा केन्द्रित भई गोरखापत्र अनलाइनका लागि सिर्जना खत्रीमनोजरत्न शाहीले गरेको भिडियो संवादः

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।