• १४ वैशाख २०८१, शुक्रबार

लोकप्रिय बन्दै केराटिन हेयर ट्रिटमेन्ट

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २९ गते । युवा पुस्तामाझ केराटिन हेयर ट्रिटमेन्ट लोकप्रिय बन्दै गएको छ । कपाल सुक्खा हुने, झर्ने, टुक्रिने समस्याबाट छुटकारा पाउन अधिकांशले यस्तो हेयर ट्रिटमेन्ट गर्छन् । सामान्यतया शरीरमा नङ, छाला र रौँ निर्माणका लागि केराटिन नामक प्रोटिन आवश्यक हुन्छ । कपालमा विभिन्न रसायन प्रयोग गर्दा नष्ट हुँदै जान्छ र कपालमा समस्या देखिन्छ ।

सौन्दर्य विज्ञ रजनी महरा भन्नुहुन्छ, “केराटिन हेयर ट्रिटमेन्ट केमिकल ट्रिटमेन्ट हो । जसमा फार्मल्डिहाइड, कन्डिसनर तथा केराटिन प्रयोग गरी कपाल स्ट्रेट, बाक्लो र बलियो बनाइन्छ । उहाँले फार्मल्डिहाइडको उपयोगले कपाल लामो समयसम्म सिधा र नरम हुन्छ । केराटिनले कपाललाई बलियो बनाउनुका साथै अन्य समस्याबाट पनि छुटकारा दिने जानकारी दिनुभयो । 

बाहिरी प्रदूषण, धुवाँ, धुलो आदिका कारण कपालमा समस्या देखिने गरेको छ । कपाल टुक्रिने, झर्ने, रुखो हुने समस्या समाधानमा केराटिन ट्रिटमेन्ट निकै उपयोगी हुने महराको अनुभव छ । कपालको स्याहारदेखि उचित साजसज्जाका लागि ध्यान दिनुपर्ने कपाल विज्ञ (हेयर स्टाइलिस) बिगेन तामाङको धारणा छ । कपाललाई आकर्षक बनाउन यसको काँटछाँट मात्र काफी छैन, त्यससँगै अरू थुप्रै कुरा पनि जोडिएर आउँछ । उहाँले भन्नुभयो, “कपाललाई कसरी बलियो बनाउने, कस्तो रङ लगाउने, कस्तो डिजाइन गर्ने भन्ने कुरा आउँछ ।” 

आफ्नो अनुहार वा समग्र शरीरअनुसार नै कपालको बान्की मिलाउनु महपूर्ण कुरा हो । कपालले नै मान्छेलाई राम्रो बनाउने भएका कारण यसमा बढी ध्यान दिनुपर्ने उहाँको जोड छ ।  “अहिले केराटिन ट्रिटमेन्ट एउटा उपाय बनेको छ,” तामाङले भन्नुभयो, “कपाललाई आवश्यक पोषण प्रदान गर्छ केराटिनलले । विभिन्न कारणले हाम्रो कपालमा रहेका केराटिन नष्ट भइरहेको हुन्छ ।” यसरी केराटिन नष्ट हुँदै जाँदा कपाल रुखो हुन्छ । त्यसैले केराटिन ट्रिटमेन्टबाट यसलाई प्राकृतिक रूपमा फर्काउनुपर्ने हुन्छ । केराटिनले कपाल स्वस्थ र नरम हुने उहाँले बताउनुभयो ।

के हो केराटिन ट्रिटमेन्ट ?

केराटिन टाउकाको छालाको सबैभन्दा माथिल्लो पत्र हो । दुई प्रकारको केराटिन हुन्छन् । ती हुन्– अल्फा प्रोटिन र बिटा केराटिन । जुन केराटिन हाम्रो छाला वा कपालमा रहेको हुन्छ, त्यसलाई अल्फा केराटिन भनिन्छ । केराटिन ट्रिटमेन्टमा कपाललाई अस्थायी रूपमा सिधा बनाइन्छ । यसमा कपालमा भित्रैसम्म पुग्ने गरी केराटिनको घोल लगाइन्छ । त्यसपछि कपालमाथि सिधा गर्ने फ्ल्याट आइरन प्रयोग गरिन्छ । यसले कपाललाई प्राकृतिक रूपमै बलियो, मुलायम, बाक्लो एवं स्वस्थ बनाउँछ । केराटिन ट्रिटमेन्ट जोकोहीले गर्न सक्छन् । कपाल स्वस्थ राख्न केराटिन ट्रिटमेन्ट सबैका लागि जरुरी हुन्छ ।

घरमै पनि केराटिन ट्रिटमेन्ट गर्न सकिन्छ । यद्यपि सम्बन्धित काममा बुझेका वा विज्ञबाट गराउँदा बढी प्रभावकारी हुन्छ । त्यसैले विश्वसनीय पार्लरमा गएर केराटिन ट्रिटमेन्ट गराउन सकिन्छ । बुझ्नुपर्ने कुराचाहिँ के भने केराटिन ट्रिटमेन्टका लागि थुप्रै पार्लर खुलेका छन् । तर राम्ररी वा सही ढङ्गले यसको ट्रिटमेन्ट गर्ने ठाउँ पहिल्याउन सक्नुपर्छ ।