• १२ असार २०८१, बुधबार

अठचालीस वर्षपछि लालपुर्जा

blog

कविराज घिमिरे 

हिले, पुस २२ गते । धनकुटाको चौबिसे गाउँपालिका–२, मुढेबासका ५५ परिवारले लालपुर्जा पाएका छन्। उनीहरूले  ४८ वर्षपछि आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपत्र पाएका हुन्। वि.स. २०३२ मा नापजाँचका क्रममा जमिनको स्वामित्व गाउँ ब्लकको नाममा राखिएपछि उनीहरू लालपुर्जा पाउनबाट वञ्चित भएका थिए। लालपुर्जा वितरणसँगै स्थानीयले सम्पत्तिसम्बन्धी अधिकार प्राप्त गरेका छन्। २०२१ सालदेखि जग्गा हदबन्दी कायम गरिएसँगै नापजाँच कार्य सुरु गरिएको र २०३२ मा नाप नक्सा सुरु गरिए पनि सिङ्गो बस्तीलाई नै गाउँ ब्लकको क्षेत्र कायम गरिँदा लालपुर्जा नपाएर स्थानीयलाई समस्या भएको थियो। लालपुर्जाविहीन भएको पाइएपछि २०७७ देखि पुनः नाप नक्सा गरेर गाउँ ब्लकको नाममा सीमित जग्गा व्यक्तिगत रूपमा बनाइएको नापी कार्यालयका प्रमुख मिथिलेश यादवले जानकारी दिनुभयो । यादवले गाउँ ब्लक भनेर लेखिएको जग्गालाई पुन नाप नक्सा गरी पुर्जा वितरण गर्ने भनेर नापी विभागबाट निर्देशन भएपछि लालपुर्जा वितरण गरिएको बताउनुभयो। धनकुटा जिल्लामा दुईवटा गाउँपालिकामा गाउँ ब्लकका रूपमा जग्गा छ। यादवका अनुसार साँगुरीगढी गाउँपालिका र चौबिसे गाउँपालिकामा गाउँ ब्लकको जग्गा रहेकोमा साँगुरीगढी गाउँपालिका–५ को ओख्रे र तुङ्खा गाउँका २८ परिवारलाई गत २०७९ साउन ५ गते वितरण गरिएको थियो।

लालपुर्जा वितरण कार्यक्रममा चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले सरकार नागरिकको अधिकारका लागि प्रतिबद्ध हुनुपर्ने बताउँदै स्थानीय तह पनि प्रतिबद्ध रहेको बताउनुभयो। लालपुर्जा वितरण चौबिसे गाउँपालिका अध्यक्ष चेम्जोङ, नापी कार्यालय धनकुटाका प्रमुख यादव, भूमि आयोग धनकुटाका अध्यक्ष बलबहादुर राईले गर्नुभएको थियो।