• १५ असार २०८१, शनिबार

सामुदायिक वनसमूहद्वारा लघु उद्यम कार्यक्रम सञ्चालन

blog

सामुदायिक वन । फाइल तस्बिर

नेपालगन्ज, असार १२ गते । बाँकेका केही सामुदायिक वन उपभोक्ता समूहले सानो लगानीमा लघु उद्यम कार्यक्रम सुरुआत गरेर आयआर्जन गरेका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका-२ स्थित जय दुर्गा भवानी सामुदायिक वन उपभोक्ता समूह, दुर्गा भवानी सामुदायिक वन उपभोक्ता समूह, कृष्ण प्रणामी धार्मिक वन उपभोक्ता समूह, राप्तीसोनारी-८ स्थित भगवती सामुदायिक वन उपभोक्ता समूह, नरैनापुरको बावाबर्फानी धार्मिक वन उपभोक्ता समूहलगायत आठ वन समूहले लघु उद्यममार्फत आयआर्जन गरेका हुन् । 

सब डिभिजन वन कार्यालयका अधिकृत सुशील सुवेदीले भन्नुभयो, “आयआर्जनका लागि सामुदायिक वनमा उल्लेख्य नयाँ नयाँ अभ्यास भएका छन्,” वन उपभोक्ता समूहका उपभोक्ताले मेन्था खेती गरेर प्रशोधन गरी सुगन्धित तेलको बेचबिखन गरेर आम्दानी गरेको वन अधिकृत सुवेदीले बताउनुभयो । उहाँले मेन्थाको खेतीबाट वन्यजन्तुले बाली खाने समस्याकोसमेत समाधान भएको उल्लेख गर्दै उपभोक्ताले दोहोरो फाइदा लिएको बताउनुभयो । 

जय दुर्गा भवानी सामुदायिक वन उपभोक्ता समूहले वि.सं.२०६८ देखि सुरु गरेको लघु उद्यममा सुरुमा पाँच लाख लगानी गरेको थियो । अहिले ६० घरपरिवार सो उद्यमबाट लाभान्वित भएको बताइएको छ । जय दुर्गा भवानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीर्घबहादुर बुढाथोकीले सामुदायिक वन उपभोक्ता समूहले लघु उद्यम गरेर आयआर्जनमा सघाउ पुगेको बताउनुभयो । 

“हाम्रो उद्देश्य नाफा कमाउने होइन तर आयआर्जनमा टेवा पुगेको छ,” उहाँले भन्नुभयो । अध्यक्ष बुढाथोकीले अहिले १० कट्ठा जग्गा लिजमा लिएर मेन्था खेती गरिएको उल्लेख गर्दै अधिकांश उपभोक्ताको जग्गा नै नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हामीलाई अझै सिँचाइको समस्या छ, त्यसको सम्बोधन भए अझै राम्रो गर्न सकिन्छ ।” 

यसबाहेक दुर्गा भवानी सामुदायिक वन उपभोक्ता समूहले स्याउला तथा सोत्तरको भरनी कम्पोष्ट मल तयार गरेर बेचबिखन गरेको छ । भगवती सामुदायिक वन उपभोक्ता समूहले जडीबुटी प्रशोधन गरेर त्यसको तेल बेच्ने गरेको छ । बाबा बर्फानी धार्मिक वनले नरैनापुरमा मेसिनमार्फत दुना र टपरीको उत्पादन गरेको छ । रासस