• २० वैशाख २०८१, बिहिबार

पत्रकारलाई धम्की दिनु निन्दनीय

blog

धीरेन्द्रप्रसाद साह

जनकपुर, पुस १९ गते । आम सञ्चार प्राधिकरण मधेश प्रदेशले विगत केही महिनायता प्रदेशका जिल्लामा कार्यरत पत्रकारमाथि धम्की एवम् दुर्व्यवहारका घटना बढेकोेप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मङ्गलबार विज्ञप्ति जारी गरी पछिल्लो समय अनलाइनखबर डट कममा कार्यरत धनुषाका पत्रकार शैलेन्द्र महतो (शैलेन्द्र क्रान्ति) लाई समाचारको विषयलाई लिएर धनुषाको विदेह नगरपालिकाका प्रमुख बेचन दासले भौतिक कारबाही गर्ने धम्की दिएको बताउनुभएको छ । 

गत पुस १५ गते मधेश प्रदेश सभाका नवनिर्वाचित सदस्यको शपथग्रहण समारोहको समाचार सङ्कलनमा खटिएका पत्रकार महतोलाई प्रमुख दासले नगरपालिका आउनु ‘लात्तीले हानेर छातीको हाड भाँचिदिन्छु’ मैले नसके महिला र अन्य मान्छे लगाएर भाँच्छु भनेर आक्रमणको धम्की दिनुले प्रेस स्वतन्त्रता र कानुनी राज्यको धज्जी उडाएको ठहर गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।

‘‘प्रेस स्वतन्त्रताको रक्षा एवम् सम्मान गर्नुपर्नेमा स्थानीय सरकारको प्रमुख जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले सार्वजनिक रुपमा पत्रकारलाई धम्की दिनु घोर निन्दनीय कार्य भएको छ । प्रमुख दासले अघि पनि अन्य सञ्चारकर्मीमाथि हातपात एवम् दुर्व्यवहार गरेको जानकारी प्राप्त भएकोले यस्ता घटना दोहोरिन नदिन अविलम्ब कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न सम्बन्धित निकायसँग आग्रहसहित ध्यानाकर्षण गराउन चाहन्छौं’’, विज्ञप्तिमा भनिएको छ ।

मधेश प्रदेशका पत्रकारलाई शान्तिपूर्ण एवम् भयमुक्त वातावरणमा पत्रकारिता गर्ने वातावरण निर्माण गर्न तथा पत्रकार महतोको सुरक्षाप्रति गम्भीर बन्न सुरक्षा संयन्त्रसँग आग्रह गरेको छ ।