• १४ वैशाख २०८१, शुक्रबार

विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङमा ग्रामीण क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ । विभिन्न छ वटा सामुदायिक विद्यालयमा अध्ययनरत एक सय ५० जना विद्यार्थीलाई शैक्षिक सामग्रीसहित न्यानो कपडा वितरण गरिएको हो । 

बढ्दो चिसो मौसममा विद्यार्थीको सुरक्षा साथै उनीहरूको पढाइमा सहयोग गर्ने उद्देश्यले ताप्लेजुङ विकास मञ्चले शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरेको हो । दौंतारी नेपालको सहयोगमा उक्त सङ्ख्यामा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको मञ्चका अध्यक्ष सन्तोष प्रसाईँले जानकारी दिनुभयो । 

अध्यक्ष प्रसाईँका अनुसार जिल्लाको मेरिङ्देन गाउँपालिकाको सूर्यदेवी माध्यमिक विद्यालय, पाथीभरा याङ्वरकको सिद्धेश्वरी माध्यमिक विद्यालय, फक्ताङ्लुङ गाउँपालिकाको तुलसी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र कपडा वितरण गरिएको छ । यस्तै, सिरिजङ्घा गाउँपालिका –१ को भगवती आधारभूत विद्यालय, सिरिजङ्घा गाउँपालिकाकै महेन्द्र आधारभूत विद्यालय र भगवती आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरिएको छ । 

ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने आर्थिक रूपले विपन्न र जेहेन्दार विद्यार्थी छनोट गरी उनीहरूलाई आवश्यक पर्ने न्यानो कपडा, झोला, जुत्तालगायतका शैक्षिक सामग्री वितरण गरिएको मञ्चले जनाएको छ । प्रदेश १ का पूर्व सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङ, दौंतारी नेपालका प्रतिनिधि उत्तरा मानन्धर लगायतको उपस्थितिमा न्यानो कपडा र शैक्षिक सामग्रीहरू वितरण गरिएको थियो ।