• १४ वैशाख २०८१, शुक्रबार

लुम्बिनी प्रदेश सभा बैठक बस्दै

blog

दाङ,  पुस  १८  गते । लुम्बिनी प्रदेश सभाको पहिलो बैठक आज बस्दै छ । राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बस्न थालेको हो ।

आज दुई वटा बैठक बस्ने कार्यसूची सार्वजनिक भएको छ । पहिलो बैठकमा प्रदेश सभाको अधिवेशन आह्वानसम्बन्धी पत्र ज्येष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने र प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । 

दोस्रो बैठकमा ज्येष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्ताव गर्नुहुनेछ । यस्तै दलको तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको हो ।

यो अधिवेशनपछि सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्नेछ । पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ ।