• १५ वैशाख २०८१, शनिबार

पाँच महिनामा उनन्साठी हजार क्विन्टल चामल ढुवानी

blog

काठमाडौँ, पुस ७ गते  । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पाँच महिनामा ५९ हजार ६११ क्विन्टल चामल ढुवानी गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म दुर्गम तथा सुगम जिल्लामा सो परिमाणमा चामल ढुवानी गरेको हो । ढुवानीबापत आठ करोड ९७ लाख छ हजार २२८ रुपियाँ खर्च भएको कम्पनीले जनाएको छ । दुर्गम जिल्लामा ३४ हजार ८५७ क्विन्टल र सुगम जिल्लामा २४ हजार ७६४ क्विन्टल चामल ढुवानी भएको कम्पनीले जनाएको छ । चालू आर्थिक वर्षमा दुई लाख ९९ हजार ३०१ क्विन्टल चामल ढुवानी गर्ने लक्ष्य रहेको छ ।

कम्पनीले ताप्लेजुङमा एक हजार स्वीकृत कोटा रहेकामा पाँच महिनामा ६३१ क्विन्टल चामल ढुवानी गरेको छ । चालू आवमा सङ्खुवासभामा एक हजार आठ सय क्विन्टल स्वीकृत कोटा रहेकामा एक हजार १९५ क्विन्टल चामल ढुवानी गरेको कम्पनीले जनाएको छ ।

यस्तै सोलुखुम्बुमा चार हजार क्विन्टल स्वीकृत कोटा रहेकामा ८७४ क्विन्टल ढुवानी भएको कम्पनीले जनाएको छ । ओखलढुङ्गामा एक हजार पाँच सय कोटा रहेकामा १७१ क्विन्टल मात्र ढुवानी भएको छ । खोटाङमा १७१ क्विन्टल, मनाङमा  १०५ क्विन्टल, गोरखामा ४२० क्विन्टल, मुस्ताङमा १५० क्विन्टल चामल ढुवानी भएको  छ । 

यस्तै रुकुमपूर्वमा एक हजार २९३ क्विन्टल, रुकुमपश्चिममा एक हजार ५३६ क्विन्टल, रोल्पामा ८६० क्विन्टल चामल ढुवानी भएको छ । जाजरकोटमा दुई हजार ३३५ क्विन्टल चामल ढुवानी भएको छ । 

दैलेखमा एक हजार ५४० क्विन्टल ढुवानी भएको छ भने जुम्लामा चार हजार क्विन्टल ढुवानी भएको छ । मुगुमा दुई हजार ९२१ क्विन्टल ढुवानी भएको कम्पनीले जनाएको छ । 

यस्तै डोल्पामा तीन हजार १९६ क्विन्टल, बझाङमा ५०१ क्विन्टल चामल ढुवानी भएको छ । बाजुरामा एक हजार ४२९ क्विन्टल, दार्चुलामा दुई हजार ९५६ क्विन्टल ढुवानी भएको कम्पनीले जनाएको छ । 

कम्पनीले विभिन्न २४ दुर्गम जिल्लामा चामल ढुवानी गर्दै आएको छ । सरकारले बजेटमार्फत दुर्गम जिल्लामा खाद्यान्न ढुवानी गर्न रकम अनुदानको व्यवस्था गरेको छ । दुर्गम जिल्लाका जनतालाई सुपथ मूल्यमा चामल उपलब्ध गराउन चालू आर्थिक वर्षमा ४९ करोड रुपियाँ बजेट विनियोजन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले गत आर्थिक वर्ष तीन लाख आठ हजार क्विन्टल चामल ढुवानी गर्ने लक्ष्य राखेकामा दुई लाख ५४ हजार ६२९ क्विन्टल चामल ढुवानी गरेको थियो । आव २०७८/७९ को बजेटमा चामल ढुवानीका लागि ४६ करोड रुपियाँ विनियोजन गरिएको थियो । कम्पनीले चामल, दाल, तेल, गेडागुडीलगायतका खाद्यान्न वितरण गर्दै आएको छ ।