• १४ वैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा जीसीको दाबी

blog

होमराज रानाभाट

कावासोती, पुुस ६ गते । गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस नवलपुरका सभापतिसमेत रहनुभएका प्रदेश सांसद महेन्द्रध्वज जीसीले कांग्रेस संसदीय दलको नेतामा चुनाव लड्ने बताउनुभएको छ । 

कांग्रेस नवलपुरका पुराना नेता सङ्गठकका रूपमा जिल्लामा विकासप्रेमी नेताको छवि बनाउनुभएका जीसी मङ्सिर ४ को निर्वाचनमा नवलपुर क्षेत्र नं. १ को (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । 

शालीन, भद्र र पार्टीको कुशल सङ्गठकका रूपमा नवलपरासीमा नै शालीन नेताका रूपमा छवि बनाएका जीसी २०३८ देखि अनवरत रूपमा राजनीतिमा सक्रिय हुुनुुहुुन्छ । २०३८ सालमा २४ वर्षको उमेरमा तत्कालीन रजहर गाउँ पञ्चायतको प्रधानपञ्चमा निर्वाचित जीसी प्रधानपञ्चमा निर्वाचित भएको डेढ वर्षमा नै तत्कालीन प्रतिबन्धित कांग्रेस पार्टीले पञ्चायतमा पसेर विद्रोह गर्न सकिन्छ भन्ने ठानेर जीसीलाई नवलपरासी जिल्ला पञ्चायत सभापतिमा उम्मेदवार बनाएको थियो । 

जिसीले सो जिल्ला पञ्चायत सभापतिमा विजयी भएपछि जनताको मन जित्दै अघि बढ्नुभएका उहाँ अहिले पनि राजनीतिमा उत्तिकै सक्रिय रहनुभएको छ । २०४४ को जिल्ला पञ्चायत सभापतिमा दोस्रो पटक पुनः निर्वाचित भएपछि उहाँले जिल्लामा कांग्रेसको नाममा सङ्गठन विस्तारसमेत गर्नुभएको थियो । 

२०४६ मा बहुदल स्थापना हुनुभन्दा अघि नै राजीनामा दिई आन्दोलनमा भूमिका निर्वाह गर्नुभएका जीसीले २०४९ मा जिल्ला विकास समितिको सभापतिमा ६ मतले पराजित हुनुभयो । २०५१ को निर्वाचनमा उहाँ नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको सांसदमा निर्वाचित भई कांग्रेस संसदीय दलको सचिव र जनसङ्ख्या तथा सामाजिक समितिको सभापति भई काम गरिसक्नुभएको छ । 

२०५६ को निर्वाचनमा झिनो मतले पराजित जीसी २०६४ को निर्वाचनमा संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । जीसी अहिले गण्डकी प्रदेशको मुख्यमन्त्रीको प्रबल दाबेदारका रूपमा रहनुभएको छ । 

गण्डकीमा आफूभन्दा सिनियर नेता नभएका कारण पनि आफू विजयी हुने सम्भावना बढी रहेको बताउनुभयो । कांग्रेस गण्डकीमा २७ सांसद छन् । अहिलेसम्म जीसी बाहेक कसैले पनि दलको नेताका लागि घोषणा गरेको छैन ।