• १४ वैशाख २०८१, शुक्रबार

भुइँमै बसेर पढ्छन् बालबालिका

blog

यादवराज पुरी 

रौतहट, पुस ६ गते । रौतहटको सदरमुकाम गौरस्थित एक विद्यालयका बालबालिका पुस महिनाको जाडोमा पनि चिसो भुइँमा बसी पढ्न बाध्य छन्। गौर नगरपालिका–८, पुरेनवामा रहेको श्री आधारभूत विद्यालयमा डेस्क बेन्च नभएपछि बालबालिका चिसो भुइँमा बसेर पढ्न बाध्य भएका हुन्। विद्यालयमा १ देखि ८ कक्षासम्म पढाइ हुने गरेको छ। 

यहाँका आधारभूत तहका बालबालिका एक दशकदेखि नै चिसो भुइँमा बसेर पढिरहेको विद्यालयकी शिक्षक पुनमकुमारी निधिले बताउनुभयो। उहाँका अनुसार विद्यालयमा डेस्कबेन्च मात्रै नभई झ्याल ढोकाका पल्ला, स्वच्छ खानेपानी, व्यवस्थित शौचालय र पाठ्यपुस्तकलगायत अन्य शैक्षिक सामग्रीको समेत अभाव छ। 

“चिसो मौसममा भुइँमा त्रिपाल बिच्छ्याइएको छ। बालबालिका घरबाट बोरा बोकेर आउँछन्। त्रिपालमाथि बोरा बिच्छ्याउँछन् अनि पढ्न बस्छन्। उनीहरूको ध्यान पढाइभन्दा चिसोको सताइमा ज्यादा केन्द्रित रहने गरेको छ। प्रधानाध्यापक सरोज झाले भन्नुभयो, “यस्तो अवस्थामा गुणस्तरीय शिक्षाको कल्पना कसरी गर्न सकिन्छ ?” 

विद्यालयमा ५१० जना बालबालिका अध्ययन गर्छन्। अहिले १ देखि ३ कक्षासम्मका बालबालिकालाई भुइँमै बसाएर परीक्षा लिइएको छ। अन्य कक्षामा पनि डेक्सबेन्च पर्याप्त नहुँदा कोचिएर बस्न बाध्य छन् बालबालिका। बालकक्षामा अध्ययन गर्ने एक बालिकाले भन्नुभयो, “चिसोले गर्दा पढाइमा त्यति मन जाँदैन। कहिलेकाहीँ त पेट फुल्ने र दुख्ने पनि गर्छ।” 

सदरमुकाममै रहेको उक्त विद्यालयको दयनीय अवस्था र बालबालिकाले पाउनुपर्ने आधारभूत शैक्षिक आवश्यकताका बारेका नगरपालिकाका प्रमुख शम्भु साहलाई पटक/पटक अवगत गराउँदा सुनुवाइ नभएको  वडाध्यक्ष जनार्दन साहको आरोप छ। उहाँ भन्नुहुन्छ, “गौरको दाल मिल नजिक पुरेनवा जाने बाटोमा प्रवेशद्वार निर्माण गर्न नगरपालिका प्रमुख साहले शिलान्यास गर्नुभयो, बजेट छुट्याउनुभयो तर विद्यालयको अवस्थाबारे उहाँलाई चिन्ता भएन। वडालाई छुट्याइएको बजेटसमेत उपलब्ध भएको छैन। बजेट उपलब्ध भएको भए पनि त्यसबाट केही रकम छुट्याई बालबालिकाको शैक्षिक अधिकार व्यवस्थित गर्ने थिएँ।”

नगरप्रमुख साहले “यस विषयमा आफूलाई कुनै जानकारी नआएको उल्लेख गर्दै अब यथाशीघ्र समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।