• ३ जेठ २०८१, बिहिबार

मकवानपुरमा १० स्थानबाट मतगणना

blog

मकवानपुरको हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माविमा मतगणनाका लागि तार जालीसहित तयारी गरिएको स्थान । तस्बिर राममणि दाहाल

हेटौँडा, मङ्सिर ५ गते । मकवानपुरमा १० स्थानबाट मतगणना सुरु गर्ने तयारी थालेको छ । बिहान ११ बजेदेखि प्रतिनिधि तथा प्रदेश सभा सदस्यको प्राप्त मतगणना गरिने मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो ।

चाँडै मत परिणाम ल्याउने लक्ष्यले धेरै स्थानबाट मतगणना गरिने उहाँले बताउनुभयो । हरेक निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको तीन स्थानमा मात्र मतगणना गर्ने तयारी गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले निर्वाचन आयोगको निर्देशनपछि हरेक निर्वाचन क्षेत्रको पाँच स्थानमा मतगणना गर्ने तयारी गरेको हो ।

मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले आयोगको निर्देशनपछि प्रत्यक्ष र समानुपातिक मतगणना एकै पटक गर्ने तयारी गरिएको जानकारी दिनुभयो । प्रतिनिधि सभाको दुई वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लाको मतगणना कार्य मतगणना कार्य गरिने हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माविको पाँच–पाँच वटा कोठामा एकै साथ सुरु गरिने भएको छ । मतगणना कार्यको लागि सर्वदलीय बैठक गरी आवश्यक तयारी सुरु गरिएको छ । 

मकवानपुरमा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको अनुपातमा यस आमनिर्वाचनमा कम मतदान भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मकवानपुर ५९ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ ।

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं. १ मा कुल मतदाता एक लाख ५० हजार १५५ रहेकोमा महिला ४५ हजार ४५६, पुरुष ४६ हजार १२३ र  अन्य चार गरी ९१ हजार ५८३ अर्थात् ६०.९९ प्रतिशतले मतदान गरेका छन् ।

यस्तै निर्वाचन क्षेत्र नं २ मा कुल मतदाता एक लाख ५० हजार ५७८ मतदाता रहेकोमा ४६ हजार ७२३ पुरुष र ३९ हजार ९२९ महिला गरी ८६ हजार ६५२ अर्थात् ५७.५८ प्रतिशत मतदाताले मतदान गरेका थिए । जिल्लामा मतदान कार्य शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको थियो । १० स्थानीय तह रहेको यस जिल्लामा १६७ मतदान स्थल र दुई अस्थायीसहित ३६६ मतदान केन्द्रमा मतदान भएको थियो ।

जिल्लाको प्रतिनिधि सभा सदस्यमा निर्वाचन क्षेत्र नं. १ मा दुई स्वतन्त्रसहित १७ जना र क्षेत्र नं. २ मा एक स्वतन्त्रसहित १० जना प्रतिस्पर्धामा छन् । यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र १ मा दुई स्वतन्त्रसहित १० जना र प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा छ स्वतन्त्रसहित १५ जना तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा निर्वाचन क्षेत्र १ मा तीन स्वतन्त्रसहित आठ जना र प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा छ तीन स्वतन्त्रसहित १० जना प्रदेश सभा सदस्यमा उम्मेदवार रहनुभएको छ ।

मकवानपुरमा एक लाख ५३ हजार ५२८ पुरुष, एक लाख ४७ हजार दुई सय महिला र अन्य पाँच जना गरी तीन लाख ७३३ मतदाता रहेका छन् । यसै गरी मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा पुरुष ४० हजार १११, महिला ३७ हजार ८७७ र अन्य एक गरी कुल मतदाता ७७ हजार ९८९ जना तथा प्रदेश सभा निर्वाचन क्षेत्र २ मा पुरुष मतदाता ३४ हजार ८१९, महिला ३७ हजार ३४४ र अन्य तीन जना गरी ७२ हजार १६६ मतदाता छन् । यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंं २ को प्रदेश सभा निर्वाचन क्षेत्र १ मा पुरुष मतदाता ४२ हजार ८४३, महिला मतदाता ४० हजार २५५ र अन्य एक जना गरी ८३ हजार ९९ जना तथा निर्वाचन क्षेत्र २ मा पुरुष मतदाता ३५ हजार ७५५ र महिला ३१ हजार ७२४ गरी ६७ हजार ४७९ जना रहेका छन् । 

Author

राममणि दाहाल