• ११ मंसिर २०८१, मङ्गलबार

युद्ध लम्बिँदाको पीडा र क्षति

blog

बेलायतले रुसविरुद्ध आफ्ना हतियार प्रयोग गर्न युक्रेनलाई अनुमति दिएको छ । बेलायतका विदेशमन्त्री डेभिड क्यामरुन युक्रेनको राजधानी किभ पुगेर हतियार प्रयोग गर्ने अनुमति दिनुभएको हो । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई आश्वासन दिँदै क्यामरुनले भन्नुभयो, “युक्रेनलाई रुसमा आक्रमण गर्ने अधिकार छ, बेलायती हतियार प्रयोग गरे हुन्छ । बेलायतले क्रेनलाई आवश्यक परेसम्म हरेक वर्ष तीन अर्ब युरो सहयोग गर्ने छ ।”

बेलायतका विदेशमन्त्रीको यो भनाइप्रति रुसले भने कडा आपत्ति जनाएको छ । यो सिधै युक्रेन वरपर तनाव बढाउनु हो र यसले युरोपकै सुरक्षालाई खतरामा पार्न सक्छ भन्दै रुसले आफ्नो कूटनीतिक सीमा बाहिर नजान बेलायतलाई चेतावनी दिएको छ ।

उता अमेरिकाले पनि युक्रेनलाई ६१ अर्ब डलरको सैन्य सहायता दिने भएको छ । अमेरिकी संसद्ले हालै ६१ अर्ब डलर बराबरको सैन्य सहायता दिने प्रस्ताव पारित गरेको हो । यो प्रस्ताव पारित गरेसँगै अमेरिकाले युक्रेनमा हतियारसहितको सैन्य सहायता पठाउन सुरु गरेको छ । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केन हतियारसहितको सैन्य सामग्री लिएर युक्रेन पुग्नु भएको छ । 

विगत दुर्ई वर्षदेखि जारी रुस–युक्रेन युद्धमा पराजयको डिलमा पुगेको युक्रेनलाई अमेरिका, बेलायतलगायतका सहयोगी देशको हतियार तथा आर्थिक सहयोगले केही राहत पुगेको छ । अमेरिकाले गोप्य रूपमा लामो दुरीसम्म मार हान्न सक्ने क्षेप्यास्त्र युक्रेनलाई दिइसकेको छ भने प्याट्रियट क्षेप्यास्त्र पनि पठाउँदै छ । रुसले यो युद्ध जिते युक्रेनलाई आफूमा विलय गराउन सक्ने र सारा युरोपको सुरक्षा खतरामा पर्ने भन्दै पश्चिमा मुलुक चिन्तित छन् । रुसभित्र लोकप्रिय र निर्विकल्प नेता बन्नुभएका राष्ट्रपति भ्लादिमिर पुटिनलाई यो युद्धमा हराउन सकिएन भने विश्व शक्ति सन्तुलन नै बिग्रिने डरले अमेरिका, बेलायत, युरोपेली सङ्घ, क्यानडा, जापान, अस्ट्रेलियालगायतका मुलुकले जसरी पनि रुसलाई हराएर युक्रेनलाई जिताउन लागि परेका छन्, जसले गर्दा यो युद्ध तत्काल अन्त्य हुने सम्भावना कम हुँदै गएको छ ।

पश्चिमा मुलुकले रुसमाथि थप प्रतिबन्ध लगाएर दबाब बढाएसँगै रुस र चीनबिचको निकटता झन् बढेको छ । रुसका राष्ट्रपति पुटिनले आज र भोलि ( बिहीबार र शुक्रबार) चीनको भ्रमण गर्दै हुनुहुन्छ । यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । 

रुस–युक्रेन युद्धले विश्व अर्थतन्त्र नै प्रभावित भएको छ । यही युद्धले एकातिर महँगी र बेरोजगारी बढाएको छ भने अर्कातिर बहुदेशीय युद्ध हुने खतराको सङ्केत गरेको छ । क्षेत्रीय शान्ति र सुरक्षा खलबलिएको छ । रुसलाई कमजोर बनाउन अमेरिका र उसका साझेदार मुलुक खुलेरै लागेका छन् । रुसका राष्ट्रपति पुटिनप्रति भने रुसी जनताको पूर्ण सहयोग र समर्थन छ । जसले गर्दा रुस लामो समयसम्म युद्धलाई जारी राख्न सक्छ । युक्रेनका सहयोगी मुलुक जसरी पनि रुसलाई हराउने पक्षमा लागे भने बाध्य भई रुसले युक्रेनविरुद्ध परमाणु हतियार प्रयोग गर्न सक्ने अवस्था आउन सक्छ । त्यो अवस्था आउन नदिन रुस र युक्रेनबिच युद्धविराम गराएर युद्ध अन्त्य गर्न विश्वस्तरबाट सक्रारात्मक प्रयास गर्न ढिला गर्नु हुँदैन । दुर्भाग्य के भइदियो भने आफ्ना हतियार बेच्न सैन्य सहायताका नाममा पश्चिमा मुलुकले युक्रेनलाई उचाल्ने काम गरेका छन् । यसले समस्या झन् बल्झाउने गरेको छ । 

युक्रेनलाई सहयोग गर्ने नाममा अमेरिका, बेलायत, युरोपेली सङ्घ, अस्ट्रेलिया, क्यानडा र जापानले रुसमाथि १६ हजारभन्दा धेरै प्रतिबन्धलाई अरू कडा बनाएका छन् । रुसको ३५० अर्ब डलर मूल्य बराबरको विदेशी मुद्राको सञ्चितिलाई रोक्का गरिएको छ ।

अमेरिकाका राष्ट्रपति जोए बाइडेनले हालै रुसमाथि पाँच सय नयाँ प्रतिबन्धको घोषणा गर्नुभएको छ । उहाँले करिब सय कम्पनी र व्यक्तिमाथि निर्यात प्रतिबन्ध लगाउनुभएको छ । यसको उद्देश्य अमेरिकाले रुसको युद्ध सामग्रीलाई निशाना बनाउने हो । अमेरिका र बेलायतले रुसी तेल र प्राकृतिक ग्यासमाथि रोक लगाएका छन् । युरोपेली सङ्घले सामुद्रिक मार्गबाट हुने रुसी तेलको आयातलाई रोकिदिएको छ । जी–सेभेनले रुसको आम्दानीलाई घटाउने प्रयत्नस्वरूप रुसी कच्चा तेलको अधिकतम मूल्य प्रतिब्यारेल ६० अमेरिकी डलर तोकेको छ । बेलायतले रुसको धातु, हिरा र ऊर्जा निर्यातमा पनि नयाँ प्रतिबन्ध लगाएको छ । युरोपेली सङ्घले पनि रुसका दुई सय संस्था तथा व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ ।

रुसको अर्थतन्त्रलाई कमजोर बनाउने उद्देश्यले यस्ता प्रतिबन्ध लगाइएको भए पनि रुसको अर्थतन्त्र सोचे जस्तो कमजोर भएको छैन । रुसले चीनबाट हतियारसम्बन्धी सामग्रीको प्रबन्ध गरिराखेको छ, जसले गर्दा रुसी अर्थतन्त्र निरन्तर उँभो लागेको छ । रुसका राष्ट्रपति पुटिनले युरोपेली प्रतिबन्धले रुसलाई कुनै हानि नगरेको दाबी गर्दै भन्नुभएको छ, “हाम्रो अर्थतन्त्रमा विकास भइराखेको छ, उनीहरूकोमा गिरावट आएको छ ।” रुस जी–सेभेनले तोकेभन्दा अधिक मूल्यमा अन्य देशलाई तेल बेच्न सफल भएको छ । भारत र चीनमा आपूर्ति बढाएर रुसले अझै पनि दैनिक ८३ लाख ब्यारेल तेल निर्यात गरिरहेको छ । रुसले जर्जिया, बेलारुस र काजकिस्तान जस्ता देशहरूमार्फत प्रतिबन्धित पश्चिमा सामानहरू आयात गर्न पनि सक्षम छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार युद्धको पहिलो वर्ष सन् २०२२ मा रुसको अर्थतन्त्र २.१ प्रतिशतले खुम्चिएको थियो । सन् २०२३ मा २.२ प्रतिशतले वृद्धि भयो भने सन् २०२४ मा ३.२ प्रतिशतको वृद्धि हुने अनुमान छ । 

युक्रेनसँगको युद्धले मुलुकभित्र राष्ट्रपति पुटिनको लोकप्रियता झन् बढेर गएको छ । गत मार्च १६ मा भएको राष्ट्रपतीय निर्वाचनमा उहाँले ८७ प्रतिशत मत ल्याएर पाँचौँ कार्यकालका लागि निर्वाचित हुनुभयो । यसले उहाँको शक्ति झन् बढेको छ । यो चुनावको सफलताले उहाँलाई सन् २०३० सम्म सत्ता चलाउन वैधानिकता प्रदान गरेको छ । 

पुटिनले सन् २०२१ मा थप दुई कार्यकाल राष्ट्रपति बन्न बाटो खुला गर्ने गरी संविधानमा संशोधन गरी आफू सत्तामा रहिरहन मार्गप्रसस्त गर्नुभएको थियो । यस पटकको चुनावलाई युक्रेनमाथि आक्रमण गर्ने पुटिनको निर्णयप्रतिको जनमत सङ्ग्रहका रूपमा पनि हेरिएको थियो । यो चुनावमा रुसले कब्जा गरेका युक्रेनी भूभाग दोनेत्स्क, लुहान्स्क, जापोरिजा र खेर्सनका बासिन्दाले समेत पुटिनका लागि मतदान गरे । यस चुनावले पुटिन झन् शक्तिशाली बनेकोमा अमेरिका लगायतका पश्चिमा मुलुकका लागि थप दुखाइको विषय बनेको छ । खास गरी उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) मा आबद्ध देशका लागि पुटिन थप आक्रामक र निर्दयी हुने विश्लेषण गरिएको छ । 

युक्रेनसँगको युद्धसँगै रुसी अर्थतन्त्र समस्याग्रस्त हुने र त्यसको प्रत्यक्ष असर राष्ट्रपति पुटिनमाथि पर्ने अमेरिकालगायतका पश्चिमा देशहरूको अनुमान सत्य साबित भएन । युद्धका बिचमा पनि रुसले राष्ट्रपतीय निर्वाचन गरायो तर युक्रेनले चुनाव गराउन सकेन । गएको मार्च ३१ म त्यहाँ राष्ट्रपतीय चुनाव हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि चुनाव भएन । सन् २०२२ को फेबु्रवरी २४ मा रुसले आक्रमण सुरु गरेसँगै युक्रेनमा सैनिक कानुन लागु गरिएको छ । जेलेन्स्कीका कारण युद्धमा १८ प्रतिशत भूभाग गुमाएको र युद्ध जित्ने सम्भावना नदेखिएकाले युक्रेनीहरू राष्ट्रपति जेलेन्स्कीप्रति रुष्ट छन् । उनीहरूले उहाँको विकल्प खोजिरहेका छन् । चुनाव हारिने डरले जेलेन्स्की तत्काल चुनाव गराउने पक्षमा हुनुहुन्न ।

युक्रेनको तुलनामा रुस निकै शक्तिशाली छ । परमाणु हतियारले सम्पन्न शक्तिशाली रुससँग युक्रेन लामो समयसम्म युद्ध गर्न सक्ने अवस्थामा थिएन । पश्चिमा मुलुकले हतियार र आर्थिक सहयोग दिइरहेकाले अहिलेसम्म युद्ध लम्बिएको हो र लम्बिँदै छ । युक्रेनले इयु र नेटोको सदस्यता लिने तयारी गरेपछि रुष्ट भएको रुसले आफ्नो सुरक्षा खतरामा पर्ने भएकाले दुवै सदस्यताबाट रोक्न युक्रेनमाथि आक्रमण गरेको हो । सुरुमा यो कारबाही धेरै दिन नचल्ने र छिटै टुङ्गिने अपेक्षा गरिएको थियो । पश्चिमा मुलुकहरूको आर्थिक तथा हतियार सहयोगले युक्रेन अहिलेसम्म युद्धमा टिक्न सकेको हो । यो स्थितिमा युद्ध लम्बिनु भनेको युक्रेनलाई पूर्ण रूपले तहसनहस बनाउनु मात्र हो । युद्ध लम्बिँदै जाँदा पश्चिमा मुलुकको हतियार त बिक्री हुन्छ । यसले समस्याको निकास भने दिँदैन बरु यसले थप अविश्वास पैदा गराउँछ । 

युक्रेन रुससँग टाढिएर युरोपतिर ढल्किन खोज्दा अहिलेको दुर्गति भोग्नु परेको हो । अभिनेताबाट राजनीतिमा आउनुभएका राष्ट्रपति जेलेन्स्की नेटो र इयुतिर आकर्षित हुनु नै अहिले समस्याको मूल कारण हो । यो उहाँको राजनीतिक र कूटनीतिक कच्चापनले युक्रेन इतिहासकै सबभन्दा अप्ठेरो अवस्थामा आइपुगेको छ । दुई असल छिमेकी भएर बस्ने वातावरण नबनाएकै कारण यो सङ्कट आएको हो । जेलेन्स्कीको कमजोरीले नै पुटिन युद्धद्वारा निकास खोज्ने अवस्थामा पुग्नुभयो । भूराजनीतिक धरातल बिर्सिदा युक्रेनवासीले इतिहासमै नभएको युद्धको पीडा र त्रास भोग्नु परेको छ ।  

वास्तविकता त के हो भने सोभियत सङ्घको विघटनपछि लगभग टाट पल्टिन लागेको रुस पुटिन नेतृत्वले पुनः शक्तिशाली बन्यो । पुटिन रुसको आवश्यकताले जन्माएको नेता हो । यसैले रुसमा उहाँको प्रभाव राम्रो छ । रुसलाई पुनः शक्तिशाली बनाउन पुटिनको योगदान महìवपूर्ण रहेको सन्दर्भमा उहाँले युद्धको होइन शान्तिको बाटो समाएर युक्रेनसँगको विवाद शान्तिपूर्ण समाधान गर्नुपथ्र्यो । युक्रेनलाई मनाउन नसक्नु पुटिनको पनि कमजोरी हो तैपनि युद्धमा होमिएको अहिलेको अवस्थामा युद्धबाटै छिनोफानो गर्ने उहाँको सोचलाई जेलेन्स्कीकै कच्चापनले थप मलजल गरेको छ । रुस आफ्नो सीमा सुरक्षा र प्रभाव क्षेत्रप्रति निकै संवेदनशील छ । युक्रेनले आफ्ना रुस समर्थित राष्ट्रपतिलाई सन् २०१४ मा अपदस्थ गरेलगत्तै युक्रेनको दक्षिणी क्रिमिया प्रायद्वीपलाई रुसले गाभेको थियो । रुस आफ्नो सीमा र प्रभाव क्षेत्र कमजोर बनाउने पक्षमा छैन । 

रुसलाई घेराबन्दी गर्ने र कमजोर बनाउने पश्चिमा मुलुकको तयारीलाई चुनौती दिन पनि युक्रेनलाई आफ्नो प्रभावबाट बाहिर जान नदिन सैन्य कारबाहीको विकल्प नदेख्नु भएका पुटिनको यो कदमले उत्तरी युरोपमा लामो समयदेखि अनुभव गरिएको स्थायित्व अन्त्य भएको छ । रुससँगको डरले पछिल्लो पटक फिनल्यान्ड नेटोमा आबद्ध भएको हो । फिनल्यान्ड नेटोमा आबद्ध भएपछि रुस झन् गम्भीर बनेको छ । युक्रेनलाई हराएरै छाड्ने पुटिनको अडान र युक्रेनलाई जिताएरै पुटिनको मेख मार्ने पश्चिमा मुलुकको सोचले समस्यालाई झन् जटिल बनाएको छ । यो युद्धको तत्काल छिनोफानो भएन भने यसले क्षेत्रीय युद्धको रूप लिने खतरा बढ्ने छ । 

  

Author

रामप्रसाद आचार्य