• २६ वैशाख २०८१, बुधबार

रुस र टर्कीबीच वार्ताको प्रयास भइरहेको छः टर्कीस् राष्ट्रपति

blog

अंकारा, कात्तिक २७ गते । टर्कीस् राष्ट्रपति रिसेप तैयब एर्डोगानले रुस र युक्रेनका बीचमा वार्ताको प्रयास भइरहेको जानकारी दिनुभएको छ । उहाँले टर्कीले दुई देशबीच शान्तिवार्ताको प्रयास जारी नै राखेको तर अमेरिकाले रुसको कडा विरोध गरेका कारण वार्ता सुरु हुन नसकेको बताउनुभएको हो ।

टर्कीस् राष्ट्रपति एर्डोगानले पछिल्लो समयमा अमेरिकाले रुसको अनावश्यक रुपमा विरोध गरेका कारण वार्ता सुरु हुन नसकेको आरोप  लगाउनुभएको समाचारमा जनाइएको छ ।

उज्बेकिस्तानबाट टर्की आउने क्रममा उहाँले संवाददाताहरुसँग यस्तो कुरा बताउनुभएको हो । टर्कीस् राष्ट्रपति एर्डोगानले टर्कीले रुस र युक्रेनका बीचमा शान्तिवार्ताको ढोका खोल्न खोजेकाले यस कार्यमा पश्चिमा देशहरुले पनि आवश्यक मात्रामा सहयोग गर्नुपर्ने बताउनुभएको हो ।

उता युक्रेनले भने रुसी सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता गर्ने जनाएको छ । युक्रेनले पहिलेदेखि राख्दै आएको यो अडान गत हप्ता पनि दोहोर्‍याएको थियो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीका सल्लाहकार मिखाइलो पोदोलियाकले गत हप्तामात्र सो धारणा राख्नुभएको युक्रेनी मिडियाले जनाएका थिए ।

हाल रुसले युक्रेनमा एक प्रकारको युद्धविराम जस्तो गरेको र त्यो युद्धविरामको अवस्था उसले आफ्नो शक्ति थप सञ्चय गर्ने काममा पनि दुरुपयोग गर्न सक्ने धारणा युक्रेनको छ ।

युक्रेनले वार्ताका बारेमा भने केही बताएको छैन । युक्रेनको विषयलाई लिएर अहिले रुस र कुनै पनि पश्चिमा देशसँग छलफल र निर्णय नभएको पनि युक्रेनले केही दिन अघि स्पष्ट गरेको थियो ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेको थियो । त्यसपछि मार्च २९ मा टर्कीको इस्तानबुल सहरमा रुस र युक्रेनका बीचमा प्रत्यक्ष वार्ता भएको थियो ।

त्यसयता यी दुई देशबीचमा प्रत्यक्ष रुपमा वार्ता हुन सकेको छैन । त्यसैले आफ्नो मध्यस्थतामा यी दुई देशका बीचमा वार्ता गराउने प्रयासमा टर्की रहेको टर्कीस् राष्ट्रपति एर्डोगानले बताउनुभएको छ । रासस/सिन्ह्वा