• ६ जेठ २०८१, आइतबार

हमासद्वारा बन्धक मुक्तिका लागि मध्यस्थता प्रस्ताव स्वीकार

blog

गाजा (इजराइल), वैशाख २५ गते । हमासले कतार र इजिप्टको मध्यस्थताको प्रस्ताव स्वीकार गरेको छ । यो गाजामा चलिरहेको द्वन्द्वमा सम्भावित सफलताको प्रतीक भएको  सिएनएनले जनाएको छ ।

भरपर्दो स्रोतबाट सिएनएनले प्राप्त गरेको दस्ताबेजमा उल्लिखित प्रस्तावले तनाव कम गर्न र दिगो शान्तिका लागि मार्गप्रशस्त गर्ने उद्देश्यले विस्तृत योजना प्रस्तुत गरेको छ ।

दस्ताबेजअनुसार सम्झौता तीन चरणमा लागु हुनेछ र प्रत्येक चरण ४२ दिनसम्म चल्नेछ । पहिलो चरणको छ हप्ताको अवधिमा महिला, बालबालिका, वृद्ध र बिरामीसहित ३३ जना इजरायली बन्धकहरूको रिहाइ समावेश छ ।

बदलामा इजरायली सेना बिस्तारै गाजाका केही भागहरूबाट फिर्ता हुनेछन् । जासुसी उडानहरू दैनिक १० घण्टाका लागि रोकिनेछ भने निरस्त्र प्यालेस्टिनीहरूलाई गाजा पट्टीभर स्वतन्त्र आवागमनको अनुमति दिइनेछ । यसका अतिरिक्त विनिमय प्रक्रियाका लागि निर्दिष्ट मापदण्डसहित,सयौँ प्यालेस्टिनी कैदीलाई रिहा गर्ने तयारी गरिएको सिएनएनले उल्लेख गरेको छ ।

सम्झौतामा हमासले रिहा गरेको प्रत्येक इजरायली बन्धकका लागि ३० प्यालेस्टिनी महिला तथा बालबालिका रिहा गरिने उल्लेख छ । साथै समान उमेर समूहका प्रत्येक इजरायली बन्धकका लागि ५० वर्षमाथिका ३० जना प्यालेस्टिनी कैदीहरू पनि रिहा गरिने छ ।

यसबाहेक ३३ जना बन्धकहरूमा महिला आइडिएफ सैनिकहरू समावेश छन् । रिहा गरिने प्रत्येक आइडिएफ महिला सैनिकका लागि ५० जना प्यालेस्टिनी कैदीलाई रिहा गर्न इजरायल सहमत भएको छ । यीमध्ये ३० जना आजीवन कारावासको सजाय भोगिरहेका छन् ।

सम्झौताको मानवीय पक्षलाई गाजामा अस्थायी आश्रय र घरहरूका साथै अस्पताल र बिजुली संयन्त्र जस्ता प्रमुख पूर्वाधारको पुनः स्थापनासहित सहायताको प्रवेशलाई सहज बनाउन व्यापक जोड दिइएको छ ।

सम्झौताको दोस्रो चरणमा पुरुष नागरिक र आइडिएफ पुरुष सैनिकसहित बाँकी बन्धकहरूको रिहाइका साथै गाजामा शान्तिको स्थायी अवधि प्राप्त गर्न प्राप्त गर्न केन्द्रित गरिएको छ । 

यद्यपि दस्ताबेजमा यस चरणको विशिष्ट विवरणलाई सम्पूर्णरूपमा खुलासा नगरिए पनि पहिलो चरणमा भएको प्रगतिमा अगाडि बढ्ने अनुमान गरिएको सिएनएनले बताएको छ ।

सम्झौताको तेस्रो र अन्तिम चरणमा गाजाका लागि तीनदेखि पाँच वर्षको विस्तृत पुनर्निर्माण योजनाको रूपरेखा तयार पारिएको छ । यस चरणले यस क्षेत्रको पुनर्निर्माण र यस क्षेत्रका बासिन्दाहरूका लागि स्थिरता र समृद्धिलाई बढावा दिने दीर्घकालीन प्रतिबद्धतालाई जोड दिन्छ ।

युद्धविराम गराउन र सम्झौताको कार्यान्वयनलाई सहज बनाउन अन्तर्राष्ट्रिय प्रयासहरू जारी छ । कतारको प्रतिनिधिमण्डलले कायरोमा अप्रत्यक्ष वार्ता जारी राख्ने तालिका रहेको छ ।

इजिप्ट र कतारको प्रस्ताव हमासले स्वीकार गरेपछि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायली सरकार र हमास दुवैलाई युद्धविराम सम्झौतामा सहमत हुन आह्वान गर्नुभएको छ ।

कतारले द्वन्द्वको द्रुत समाधान र गाजामा मानवीय सहायताको दिगो प्रवाहका लागि आशा व्यक्त गर्दै घटनाक्रमले अधिकारी र हितग्राहीहरूबिच आशा जगाएको बताएको छ । जोर्डनका विदेशमन्त्री अयमान सफादीले यस्ता भावनाहरू दोहोर्‍याउँदै व्यापक सम्झौतामा पुग्न तत्काल आवश्यक रहेको कुरामा जोड दिनुभएको छ । रासस/एएनआई