• १३ पुस २०८१, शनिबार

माता सबैकी पूज्य

blog

प्रत्येक वर्ष वैशाखकृष्ण औँसीको दिनलाई मातृऔँसी अर्थात् आमाको मुख हेर्ने दिनको रूपमा मनाइन्छ । यस दिन आमालाई श्रद्धा, भक्ति, सम्मान र आदरका साथ मिठो मिठो खानेकुरा, मनपर्ने लुगाफाटोलगायत उपहार दिएर कृतज्ञता अर्पण गरिन्छ र आमाबाट आशीर्वाद लिने गरिन्छ । आमाप्रति विशेष भक्ति र भावपूर्ण सम्मान गरिने हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन, मातातीर्थ औँसी, मातृऔँसी, मातृदिवस भनेर पुकारिन्छ । यस दिन आमाले हाम्रा लागि गरेको कष्टपूर्ण र महान् कार्यको सम्झना गरिन्छ । आमाले हामीलाई नौ महिनासम्म गर्भमा राखेर जन्माएको, संसार देखाएको, धरतीमा पाइला चाल्न सिकाएको, काखमा राखेर वात्सल्य प्रेममा हुर्काएको, स्तनपान गराएको आदि सम्झना गरेर आमालाई यस दिन सम्मान गरिन्छ । वर्षभरिको समय मेरा लागि शुभ रहोस् सद्बुद्धि बढ्दै जाओस्, सद्कर्मप्रद होस् भनेर आशीर्वाद लिइन्छ र आमाको दीर्घ जीवनको मङ्गलमय कामना व्यक्त गरिन्छ । 

हामीलाई पृथ्वीमा टेकाउने र संसार देखाउने आमाको जति प्रशंसा र व्याख्या गरे पनि कम हुन्छ । आमाको मातृवात्सल्यता एक अतुलनीय स्वर्ग हो, जहाँ आमाको काखसँग कुनै पनि सुखको तुलना हुन सक्दैन । यसैले अरूको लाख, आमाको काख भन्ने उक्ति चलिआएको हो । हामी सबैको पहिलो गुरु आमा हुन् । सन्तानलाई आफ्नो पिता चिनाउने पनि आमा हुन् । संसारमा कसैलाई कसैले निःस्वार्थ माया गर्छ भने त्यो माया केवल आमाले आफ्ना सन्तानहरूलाई गरेकी हुन्छिन् । आमाले गर्ने निःस्वार्थ मायामा आमाको महिमा अन्य विषयको महिमासँग तुलना गर्नै सकिँदैन । संसारमा सबैभन्दा ठुलो तीर्थ आमा हुन् । आमा बराबरको तीर्थ अरू कुनै पनि छैन । आमालाई सच्चा भावले सेवा गर्ने र तीर्थाटन गर्ने सन्ततिहरू सच्चा पात्र हुन् । आमाको सेवा गर्ने सन्तानको ग्रहदशा राम्रो छैन भने पनि ग्रहदशा शान्ति भएर जान्छ अर्थात् टरेर जान्छ । उसलाई आमाको आशीर्वादले कहिल्यै पनि अधोगति हुन दिँदैन । ठुला ठुला कष्ट पनि हटेर जान्छ र उसको जीवन सफल भएर जान्छ । यसैले आमा समान सहारा छैन, आमा समान रक्षक छैन र आमा समान प्रिय चिज पनि छैन । आमा सबैकी पूज्य देवी हुन् । आमा एक आमा मात्र होइनन्, ईश्वरीय रूप हुन् । भगवान् खोज्न मन्दिर जानुपर्दैन, आमाको चरण ढोगे पुग्छ । धर्मकर्म गर्न कुनै दान गर्नु पर्दैन, आमालाई खुसी राखे पुग्छ । चार धाम, सबै तीर्थ आमामा गएर समाहित भएका छन् । तेत्तीस कोटी देवताको सारा शक्ति आमाकै आशीर्वादबाट प्राप्त हुन्छ । आमाको चरण स्पर्शबाट मात्र स्वर्गको ढोका खुल्छ । आमालाई गरिने सम्मान, माया नै हरेक सङ्कटको मोचन हो । घरपरिवारमा सबैभन्दा बढी ख्याल राख्ने, माया दिने, स्नेह दिने र हेरचाह गर्ने आमा हुन् । यसैले आमाको महिमा जति गाए पनि पुग्दैन । किनकि आमाको उपमा नै छैन । 

आमाको महत्व दर्शाएर नेपोलियन बोनापार्टले भनेका थिए, ‘‘मलाई एक असल आमा देऊ, म तिमीलाई सिङ्गो राष्ट्र दिने छु ।’’ यस्तै, अब्राहम लिङ्कनले भनेका थिए, ‘‘जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन ।’’ यसबाट के बुझ्न सकिन्छ भने आमाको महिमा धेरै माथि हुन्छ । यसका साथै असल आमाका असल पुत्रहरूको राष्ट्रनिर्माणमा महìवपूर्ण भूमिका रहेको हुन्छ । आमाको क्षेत्राधिकार विशाल एवं विराट् छ, जुन अति नै महìवपूर्ण हुनुका साथै संवेदनशील पनि छ । 

मनुस्मृतिमा मातापितालाई ठुलो दर्जा दिएर भनिएको छ, ‘‘उपाध्यायाद दशाचार्य आचार्याणां शतं पिता । सहस्रं तु पिता माता गौरवेणातिरिच्यते ।।’’ अर्थात् धर्मकर्म सिकाउने गुरु पढाउने गुरुभन्दा दस गुणा माथि हुन्छन् । धर्मकर्म सिकाउने गुरुभन्दा बाबु सय गुणा माथि हुन्छन् भने बाबुभन्दा आमा हजार गुणा माथि हुन्छिन् । मातापिताप्रति उच्च श्रद्धा र सम्मान राख्नुपर्ने कुरा धर्मशास्त्रहरूमा उल्लेख भएको पाउँछौँ । भगवान् गणेशले आफ्ना आमाबाबु भगवान् शिव–पार्वतीलाई संसारको सबैभन्दा उच्च स्थान दिए । मातापितालाई ईश्वर सरह मान्ने श्रवण कुमारले दुवै आँखा देख्न नसक्ने आमाबाबुलाई तीर्थहरूको भ्रमण गराउन लगेको पनि हामीले पढेकै छौँ । रामायणमा श्रीराम आफ्ना पिताको वचन राख्नका लागि राज्य छोडेर चौध वर्ष वनवास गएको प्रसङ्ग पनि छ । 

संसारमा पुत्र बरु कुपुत्र हुन सक्छ, तर माता कुमाता कहिल्यै पनि हुँदिनन् । त्यसैले त शङ्कराचार्यले भन्नुभएको छ, ‘‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति ।’’ अर्थात् संसारमा मातृस्थान सर्वोपरि छ । सन्तानको निमित्त आमाले जति त्याग कसैले पनि गरेको हुँदैन । यसैले मनुले पनि भनेका छन्, ‘‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः । यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः ।।’’ अर्थात् जहाँ नारीको पूजा हुन्छ, सम्मान हुन्छ, त्यहाँ देवता पनि खुसी हुन्छन् र देवताको बास हुन्छ । जहाँ नारीको सम्मान तथा पूजा हुँदैन, त्यहाँ गरिएका समस्त राम्रा राम्रा काम पनि निस्फल हुन्छन् । यसैले देवतालाई खुसी पार्नु छ भने आमाको पूजा श्रद्धाभाव र भक्तिका साथ गर्नु पर्छ । 

मातृशक्तिलाई आद्यशक्ति मानिएको छ । सृष्टिस्थिति र लय आद्यशक्ति भगवतीकै कृपाले सम्भव हुने भएकाले पनि मातृशक्तिको महिमा विशेष रहेको छ । महाकाली, महालक्ष्मी अनि महासरस्वती देवीकै प्रतिमूर्ति हुन् । हामीले नित्य जप्ने गायत्री मन्त्र भनौँ या अर्धनारीश्वर शिव भनौँ, जहाँ पनि मातृशक्तिको प्राधान्यता रहेको पाइन्छ । त्यसैले आमाको सेवा गर्नु भनेको भगवतीको उपासना गर्नु हो । देवी भगवती भनेकै आमा हुन् । आमा साक्षात् प्रतिमूर्ति देवी हुन् । जसरी भगवती देवीको पूजा नित्य हुन्छ, त्यसरी नै आमाको पनि पूजा गर्नु पर्छ । विशेषतः आमाको मुहारमा नित्य खुसी ल्याउन सक्नु नै आमाको मुख हेर्नुको तात्पर्य हो । आमालाई सधैँ खुसी राख्नु नै मातृऔँसीका दिन आमाको मुख हेरेको अर्थ हुन्छ । यसैले आमा हुनेले आमाको समीपमा उपस्थित भई विधिपूर्वक पूजा अर्पण गरेर अनि नहुनेले तीर्थमा गएर भक्तिपूर्वक श्राद्धादि कर्म गरेर आफ्नो कर्तव्य पूरा गर्नु पर्छ । 

यस दिन काठमाडौँको दक्षिण–पश्चिममा अवस्थित थानकोटमा पर्ने मातातीर्थ कुण्डमा मेला लाग्छ । विशेष गरेर आमा नभएकाहरू त्यस कुण्डमा गएर दिवङ्गत आमाको नाममा तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादान तथा दक्षिणासहित भोजन गराई आमाको सम्झना गरिन्छ । उक्त स्थानमा गरिने पुण्यकर्मले आमाले नौ महिनासम्म गर्भमा राखेर जन्माई हुर्काएको मातृऋणबाट मुक्ति मिल्नुका साथै आमाको समेत मोक्ष गति हुने विश्वास गरिन्छ । स्वस्थानी व्रतकथा अनुसार यही कुण्डमा सतीदेवीको अङ्ग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो । यस कारण त्यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा उक्त कार्य गर्ने सन्तानले जीवनभर सुखसन्तोष पाउने जनविश्वास छ । यसैले आमालाई सेवासुश्रूषा गर्न नचुकौँ । जीवनभर खुसी र सुखी राखी आमाको मुहारमा सदैव मुस्कान ल्याउनु नै असल सन्तानको परम कर्तव्य हो ।   

Author

बोधनाथ पौडेल