• १४ वैशाख २०८१, शुक्रबार

शोकमा गैरागाउँ

blog

केशवचन्द्र महरा

दीपायल, कात्तिक २४ गते । पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँका प्रेम बोहरा दुई वर्षपछि मङ्गलबार साँझ मात्रै भारतबाट घर आउनुभएको थियो। उहाँ घर आउनुअघि नै परिवारमा नयाँ घर बनाउने सल्लाह भएको तर घर नबन्दै भूकम्पका कारण पुरानो घर भत्किँदा च्यापिएर उहाँको निधन भयो। 

उहाँकी ८१ वर्षीया आमा खिनादेवी बोहराका अनुसार प्रेमले परिवारसँगै खाना त खानुभयो तर पूरा रात निदाउन भने पाउनुभएन। अबेर घर पुग्नुभएका प्रेम छोराछोरीका लागि ल्याइदिएका लुगा दिँदै हुनुहुन्थ्यो। यत्तिकैमा बेलुकी ९ बजेर ७ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्पको पहिलो झट्का आयो। “सन्दुक बज्न थाले। छोराले खानाको थालमा हात के लगाएको थियो, पूरै घर हल्लियो, गोठमा भएका चौपाया कराउन थाले,” आमा खिनादेवीले भक्कानिँदै भन्नुभयो, “नराम्रो सङ्केत त्यतिखेरै देखिएको थियो तर घर नै भत्केला भन्ने सोच्नै सकेनौँ।”

प्रेमकी श्रीमती बिस्नादेवीले यस्तो भूकम्प पटक–पटक आउने जाने गरेकोले परिवारका सदस्यलाई नडराउन भन्नुभयो। त्यसपछि आफूहरू खाना खाएर सुतेको खिनादेवीले बताउनुभयो। 

बुधबार बिहान २ बजेर १२ मिनेटमा ९ बजेको भन्दा ठूलो धक्का आयो। घरको तल्लो तलामा निदाउनुभएकी आमा आत्तिएर बाहिर आउनुभयो। गाउँभरि कोलाहल मच्चियो। खिनाले सुनाउनुभयो, “पूरै घर भत्केको थियो। आँखा पनि देखिनँ, छामछुम गरेर हेर्दा पनि भेट्टाउन सकिनँ। नाति रोएकोबाहेक केही सुन्नै सकिनँ।”

घटनामा प्रेम, उहाँकी श्रीमती बिस्ना र छोरी तुल्सी घरमा च्यापिएको अवस्थामा फेला पारेको स्थानीयवासी बताउँछन्। प्रेमको घटानस्थनमै निधन भयो भने उहाँकी श्रीमती बिस्ना गम्भीर घाइते हुनुहुन्छ। पाठेघरमा घम्भीर चोट लागेका कारण जिल्लामा उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल रेफर गरिएको छ।

भूकम्पका कारण गैरागाउँका नौवटा घरमा पूर्ण रूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामा एकै परिवारका तीन जनासहित छ जनाले ज्यान गुमाउनु परेको छ। सोही गाउँका थप सात जना घाइते भएका छन्। एउटै टोलका, छिमेकीको निधन र घाइते भएपछि सो गाउँ शोकमा डुबेको छ। 

मृतक र घाइते गाउँले मात्र नभएर एउटै वंशजका भएको पूर्वीचौकी गाउँपालिकाका उपाध्यक्ष पशुपति खड्काले बताउनुभयो। “२०३७ सालपछि भूकम्पबाट मानवीय क्षति अहिले मात्रै भएको हो,” उहाँले भन्नुभयो, “उक्त गाउँ मात्रै नभएर पूरै गाउँपालिका शोकमा छ। एकै दिन, एकै पटक यति धेरै गाउँपालिकावासी गुमाउनु पर्दाको पीडा हामीलाई झन् बढी छ।”

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टका अनुसार सो गाउँका ५० वर्षीय प्रेम बोहरा, १३ वर्षीया सीता बोहरा, ४० वर्षीया भगवती बोहरा, आठ वर्षीय हर्क बोहरा, १४ वर्षीया धनसरी बोहरा र १४ वर्षीय तुल्सी बोहराको मृत्यु भएको हो। मृतक सबैको बुधबार एकसाथ दाहसंस्कार गरिएको छ।