• १५ वैशाख २०८१, शनिबार

मतदाता शिक्षा सञ्चालन गरिने

blog

डोल्पा समाचारदाता

डोल्पा, कात्तिक २३ गते । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा बदर मतको दर घटाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी तथा मतदाता शिक्षा जिल्लास्तरीय समितिका संयोजक वेदनिधि अधिकारीको संयोजकत्वमा बसेको बैठकले जिल्लाका आठवटै स्थानीय तहमा मतदाता शिक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । 

जिल्लाका छवटा गाउँपालिकाबाट एक/एक जना र दुई नगरपालिकाबाट दुई/दुई जना गरी १० जनालाई मङ्गलबारबाट स्थानीय तह निर्वाचन सम्पर्क व्यक्तिका रूपमा नियुक्त गरी एकदिने मतदाता शिक्षा तालिम दिइएको जनाइएको छ । जिल्ला निर्वाचन कार्यालय डोल्पाका निर्वाचन अधिकारी रामबहादुर सार्कीका अनुसार स्थानीय तह निर्वाचन सम्पर्क व्यक्तिले प्रत्येक वडामा मतदाता शिक्षा समिति गठन गरी विभिन्न संयन्त्रमार्फत मतदाता शिक्षा दिइने जनाइएको छ । मतदान गर्ने व्यक्तिलाई मतपत्रमा कसरी छाप लगाउने, कुन मत कुन ठाउँमा खसाल्ने, मतपत्र खसाल्ने समयलगायतका बारेमा मतदाताहरूलाई शिक्षा दिइनेछ । जिल्लामा ६६ वटा स्थायी र दुईवटा अस्थायी गरेर ६८ वटा मतदान केन्द्र छन् भने जिल्लाको मतदाता सङ्ख्या २२ हजार ७७४ छ ।

जिल्ला निर्वाचन अधिकारी सार्कीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र, स्टेम प्याड, स्वस्तिक छापलगायत छेकाबाराजस्ता निर्वाचनका लागि आवश्यक पर्ने सबै निर्वाचन सामग्रीहरू जिल्लामा आइसकेको उहाँले बताउनुभयो । 

जनप्रतिनिधिलाई स्पष्टीकरण 

निर्वाचन आचारसंहिताविपरीत चुनाव प्रचारमा संलग्न रहेको गुनासो बढेपछि जिल्लाका स्थानीय तहका बहालवाला जनप्रतिनिधिलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । 

जिल्लाका दुई नगरपालिका र दुई गाउँपालिकाका प्रमुख, उपप्रमुखलगायत वडाअध्यक्ष र सदस्यहरू खुलेआम आफ्नो आस्था रहेको पार्टीका उम्मेदवारको पक्षमा मत माग्न थालेको गुनासो आयोगमा आएपछि स्पष्टीकरण सोधिएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश बाबुराम सुवेदीले बताउनुभयो ।

त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकाया, उपप्रमुख देवी घर्ती, ठूलीभेरी नगरपालिकाका प्रमुख सुवर्णबहादुर बुढा, उपप्रमुख डोल्मा छिरिङ महत, जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिं रोकाया, मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीलगायतका स्थानीय तहका वडाध्यक्ष तथा सदस्यहरूले समेत आचारसंहिताविपरीत कार्य गरेको गुनासो आएपछि पहिलो पटक स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले स्थानीय तहमा बहालवाला कुनै पनि पदाधिकारीले दलगत स्वार्थमा लागेर चुनाव प्रचारप्रसार गरेमा आचारसंहिताविपरीत हुने र त्यस्तो कार्यमा संलग्न रहेको पाइएमा वा उजुरी परेमा पदमुक्त हुनेसम्मको कारबाही हुने बताउनुभयो । डोल्पामा सुरुमा निर्वाचन आचारसंहिता थाहा नपाएर भूलवश प्रचारमा लागेको गुनासो आएको र लिखित नआएकाले पहिलो पटक सामान्य सोधपुछ गरी आचारसंहिताको पूर्ण पालना गर्न निर्देश गरिएको आयोगले जनाएको छ ।