• १५ वैशाख २०८१, शनिबार

सुदूरपश्चिममा सत्ता गठबन्धन

प्रधानमन्त्री देउवाकै जनाधारको भर

blog

अशोक अधिकारी / पुष्कर भण्डारी

डडेल्धुरा, कात्तिक २३ गते । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराका प्रत्येक चुनावी सभामा डडेल्धुरा प्रदेश (क)का उम्मेदवार खगराज भट्टलाई जिताउन अपिल गर्नुभयो । सबै चुनावी सभामा उहाँले दोहो-याइरहनुभयो, “खगराज भट्टजीलाई जिताउनुस्, मलाई प्रतिनिधि सभा सदस्यका लागि रुखमा मतदान गर्नुहोस् ।”

गृह जिल्ला डडेल्धुरामा प्रतिनिधि सभा सदस्य उम्मेदवार देउवाले जिल्लाका आठवटा चुनावी सभामा आफूलाई भन्दा बढी नेकपा (माओवादी केन्द्र)का नेता तथा गठबन्धनका प्रदेश सभा (क)का उम्मेदवार भट्टलाई मत माग्नुभयो । प्रधानमन्त्री देउवाले गठबन्धनप्रति पूर्ण प्रतिबद्ध रहेको सन्देश दिँदै २०६४ र २०७० को संविधान सभा र २०७४ को प्रतिनिधि सभा निर्वाचनका प्रतिस्पर्धीका लागि मत मागिरहनुभएको थियो । 

ऐतिहासिक मतान्तरसहित जित्नेमा विश्वस्त प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा गठबन्धनका अन्य दलका उम्मेदवारको पक्षमा माहोल सिर्जना गर्न प्रयत्नशील हुनुहुन्छ । प्रत्येक निर्वाचनमा उहाँकै कमान्डमा कांग्रेसले सुदूरपश्चिममा ऐतिहासिक जित निकाल्दै आएको छ ।  यस पटक पनि उहाँ आक्रामक ढङ्गले सुदूरपश्चिम प्रदेश केन्द्रित चुनावी प्रचारप्रसार अभियानमा हुनुहुन्छ । सुदूरपश्चिमलाई विकास र समुन्नतिमार्फत राष्ट्रिय राजनीतिमा जोड्नुभएका प्रधानमन्त्री देउवाले बाँकी राजनीतिक जीवन सुदूरपश्चिमसँगै समुन्नत देशको अठोटका साथ चुनावी अभियानमा खटिनुभएको छ ।

प्रत्येक निर्वाचनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कमान्डमा कांग्रेसले सुदूरपश्चिममा ऐतिहासिक जित निकाल्दै आएको छ । 

कांग्रेस केन्द्रीय सदस्य एनपी साउदका अनुसार २०४८ पछि हरेक निर्वाचनमा प्रधानमन्त्री देउवाकै कारण सुदूरपश्चिममा कांग्रेसले उत्कृष्ट परिणाम निकाल्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सभापति देउवाले २०४८ को निर्वाचनमा पहिलो पटक सुदूरपश्चिममा चुनावी कमान्ड सम्हाल्नुभएको थियो, त्यति बेला कांग्रेसले सुदूरपश्चिमका १९ मध्ये १८ सिट जितेको थियो । २०७४ को निर्वाचनमा कांग्रेसलाई जोगाउने काम देउवाले नै गर्नुभयो ।”

माओवादी–एमाले गठबन्धनका कारण २०७४ को निर्वाचनमा सुदूरपश्चिममा कांग्रेसले एक सिट मात्रै जितेको थियो । डडेल्धुराबाट निर्वाचित सांसद देउवा प्रधानमन्त्री बन्नुभयो । उहाँका अनुसार पहिलो पटक सांसदमा निर्वाचित हुँदा गृहमन्त्री हुनुभएका देउवा त्यसपछि सांसदमा विजयी बनेर प्रधानमन्त्री बनिरहनुभएको छ । अहिले उहाँ पाँचौँ पटक कार्यकाल सम्हालिरहनुभएको छ । नेता साउदले भन्नुभयो, “यो हाम्रो सभापति देउवामाथि जनताले गरेको विश्वासकै कारण सम्भव भएको हो ।”

देउवाको उपस्थितिले उत्साह

आफ्नो निर्वाचन क्षेत्र डडेल्धुरामा कात्तिक १७ देखि २० गतेसम्म प्रचारप्रसारमा खटिनुभएका प्रधानमन्त्री देउवा आइतबारदेखि कैलालीको धनगढीमा बसेर आसपास जिल्लाका नेताहरूसँग छलफल गरिरहनुभएको छ । उहाँले आर्थिक क्षेत्रका अगुवाहरूलाई पनि भेटिरहनुभएको छ । 

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको छ । प्रधानमन्त्री देउवाको प्रदेश केन्द्रित सक्रियताले डडेल्धुरासँगै प्रदेशका बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीमा गठबन्धनका उम्मेदवारहरू उत्साहित देखिनुहुन्छ । संविधान रक्षा र लोकतन्त्र सबलीकरणका लागि लिनुभएको अठोट, राष्ट्रिय राजनीतिमा सफल प्रभाव, संयोजनकारी भूमिका र सुदूरपश्चिमको समुन्नतिका लागि प्रधानमन्त्री देउवाको निरन्तर सक्रियताका कारण गठबन्धनले उहाँकै ‘अनुहार देखाएर’ मत मागिरहेको छ । 

कांग्रेसका नेता तथा कञ्चनपुर क्षेत्र नं. २ का गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार एनपी साउद र एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं डोटीका प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रेमबहादुर आलेले सुदूरपश्चिमको विकास, पूर्वाधार निर्माण र समुन्नतिका लागि २०४८ सालयता प्रधानमन्त्री देउवाले गर्नुभएको पहलकै कारण सुदूरपश्चिममा जनविश्वास जितेको बताउनुभयो । 

नेता साउदले भन्नुभयो, “सभापति देउवा हाम्रो पार्टीको मात्रै होइन, सुदूरपश्चिमका जनताका लागि साझा नेता हुनुहुन्छ, सर्वस्वीकार्य हुनुहुन्छ, डडेल्धुरा होस् वा कञ्चनपुर जहाँबाट उठ्दा पनि जनताबाट अनुमोदित हुनुको कारण यही हो ।” प्रधानमन्त्री देउवा ‘फ्रन्टलाइन’मा आएपछि सुदूरपश्चिममा सत्ता साझेदार गठबन्धन झन् बलियो भएको बताउँदै साउदले भन्नुभयो, “राजनीतिक सफलताले मात्रै होइन, प्रधानमन्त्री देउवाले सुदूरपश्चिमबाट प्रतिनिधित्व नगर्नु भएको भए यो क्षेत्र यति धेरै चर्चामा र समुन्नतिको बाटोमा पनि अघि 

बढ्ने थिएन ।” पूर्वमन्त्री आलेले सुदूरपश्चिममा प्रधानमन्त्री देउवाकै कारण गठबन्धन बलियो भएको र निर्वाचनमा जनताबाट गठबन्धन अनुमोदित हुने बताउनुभयो । 

आर्थिक उन्नयन र समुन्नतिका सूत्रधार

डडेल्धुरा प्रदेश सभा (क)का उम्मेदवार एवं माओवादी स्थायी समिति सदस्य भट्ट र एकीकृत समाजवादीकी केन्द्रीय सदस्य पूर्णा जोशीले प्रधानमन्त्री देउवालाई समुन्नत सुदूरपश्चिमका सूत्रधारका रूपमा लिनुपर्ने बताउनुभयो । नेता भट्टले भन्नुभयो, “भौगोलिक रूपमा विकट र काठमाडौँबाट टाढा सुदूरपश्चिमलाई विकास र समुन्नतिको यो चरणसम्म ल्याउन प्रधानमन्त्री देउवाकै भूमिका छ, यो सत्यलाई सबै राजनीतिक दलले स्वीकार्नैपर्छ ।” सडकको स्तरोन्नति, मेडिकल कलेज निर्माण र आधारभूत तहका जनतालाई राहत मिल्ने गरी आगामी कार्यकालका लागि प्रधानमन्त्री देउवाले योजना अघि बढाएकाले आउने पाँच वर्षमा सुदूरपश्चिमले ठूलो फड्को मार्ने भट्टले बताउनुभयो । 

उहाँले भन्नुभयो, “प्रधानमन्त्री देउवाले पश्चिम सेतीसहित कैयौँ जलविद्युत् आयोजना निर्माणका लागि पहल गरिरहनुभएको छ । यस क्षेत्रको सामाजिक, आर्थिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रका नवीन सम्भावनाहरूको खोजी अघि बढाउने प्रतिबद्धताले पनि प्रदेशमा छुट्टै जागरण आएको छ ।” नेत्री जोशीले सुदूरपश्चिममा विकासको जग बसाल्ने श्रेय प्रधानमन्त्री देउवालाई जाने बताउँदै देउवाकै नेतृत्वमा देश र प्रदेशमा गठबन्धन गरेर चुनावमा जाँदा चारै दलका नेता–कार्यकर्ता उत्साहित भएको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “विकासका सूत्रधार देउवाजीकै नेतृत्वमा संविधान र लोकतन्त्रको रक्षापश्चात् हामी निर्वाचनमा जाँदै छौँ । यसलाई हामीले उत्सवका रूपमा लिएका छौँ ।”