• १५ वैशाख २०८१, शनिबार

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९

निर्वाचनमा यसरी खटिन्छन् जनशक्ति

blog

तस्बिर : निर्वाचन आयोग

काठमाडौं, कात्तिक १५ गते । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुरक्षाकर्मी बाहेक करिब दुई लाख ४६ हजार जनशक्ति परिचालित हुने भएका छन् ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ बमोजिम निर्वाचनको कामका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायत आवश्यक देखिएका अन्य पद सिर्जना गरी आवश्यकता अनुसार कर्मचारी नियुक्त गर्न वा तोक्न सक्ने व्यवस्था रहेको छ ।

नेपालको संविधान तथा निर्वाचनसम्बन्धी कानुनमा आयोगको जिम्मेवारी बमोजिमका कार्य सम्पादनका लागि नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारी वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारको अनुदानमा सञ्चालित संस्थाका कर्मचारी वा विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीलाई खटाउन वा काममा लगाउन सकिने व्यवस्था रहेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७९ मा ‘जनशक्ति’ भन्नाले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहका कर्मचारी वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार वा प्रदेश सरकारको अनुदानमा सञ्चालित संस्थाका कर्मचारी वा विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारी सम्झनुपर्छ र सो शब्दले त्यस्तो निकायमा काजमा, करारमा वा ज्यालादारीमा कार्यरत कर्मचारीलाई समेत जनाउने उल्लेख गरिएको छ ।

आयोगको कार्यालयमा सञ्चालनमा रहेको समानुपातिक निर्वाचन प्रणालीका मुख्य निर्वाचनको कार्यालयमा ५५ जना, निर्वाचनका लागि गत असोज २० गतेसम्ममा सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आइसकेको छ । निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा खटिने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषद्को सिफारिसमा जिल्ला अदालतका न्यायाधीश र निर्वाचन अधिकृतका लागि न्याय सेवा आयोगको सिफारिसमा न्याय सेवाका रा.प. द्वितीय श्रेणीका कर्मचारीलाई खटाउने गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत एकजना, सहायक निर्वाचन अधिकृत, (राप. द्वितीय श्रेणी वा सो सरह वा राप. तृतीय श्रेणी वा सो सरह)–एकजना, लेखा अधिकृत वा लेखापाल (रा. प. तृ. श्रेणी वा सो सरह वा (रा.प.अनं प्रथम श्रेणी वा सो सरह) एकजना, सहायक कर्मचारी (रा.प.अनं प्रथम श्रेणी वा सो सरह वा रा.प. अनं. द्वितीय श्रेणी वा सो सरह) एकजना रहनेछन् ।

यस्तै, कम्प्युटर अपरेटर (रा.प.अनं प्रथम श्रेणी वा सो सरह वा रा.प. अनं. द्वितीय श्रेणी वा सो सरह) एकजना, सवारी चालक (सवारी साधन भएमा) एक जना, सहयोगी कर्मचारी (श्रेणी विहीन) दुई जना, निजी सुरक्षा अधिकारी (पी.एस.ओ.) एकजना गरी नौ जना रहने छन् । निर्वाचन अधिकृतको कार्यालयमा पनि नौ जना कर्मचारी दरबन्दी रहने छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सञ्चालन (आर्थिक व्यवस्थापन कार्यविधि), २०७९ मा भएको व्यवस्था अनुसार दुई सय ५० सम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत एक एक जनासहित नौ जना रहने छन् । त्यस्तै, दुई सय ५१ देखि पाँच सयसम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत एक–एक जनासहित ११ जना कर्मचारी रहने छन् । साथै, पाँच सयभन्दा बढी मतदाता भएका मतदान केन्द्रमा थप एकजना स्वयंसेवक रहने छन् । कार्यविधिमा अस्थायी मतदान केन्द्रको पनि व्यवस्था रहेको छ ।

मतदान केन्द्रसम्बन्धी खर्च तथा मतदान केन्द्रमा खटिने मतदान अधिकृत लगायतका कर्मचारीलाई दैनिक तथा भ्रमण खर्च भुक्तानी दिने कार्यलाई व्यवस्थित गर्न थप जनशक्ति आवश्यक भएमा निर्वाचन अधिकृतले बढीमा पाँच दिनका लागि मतदान केन्द्रको आधारमा लेखापाल वा सह लेखापाललाई काजमा ल्याउन सक्नेछ ।

मतपत्र रुजु गर्ने, प्याकेजिङ्ग गर्ने तथा मतदान अधिकृतलाई मतपत्र बुझाउने कार्यका लागि थप जनशक्ति आवश्यक पर्ने भएमा निर्वाचन अधिकृतले बढीमा पाँच दिनका लागि मतदाता सङ्ख्याका आधारमा राजपत्र अनङ्कित वा सो सरहका कर्मचारी काजमा ल्याउन सक्नेछ ।

सोका लागि १५ हजारसम्म मतदाता भएका निर्वाचन क्षेत्रका लागि एकजना, १५ हजार एक देखि तीस हजारसम्म मतदाता भएको निर्वाचन क्षेत्रका लागि दुई जना, ३० हजार एक देखि ३५ हजारसम्म मतदाता भएको निर्वाचन क्षेत्रका लागि तीन जना, ३५ हजार एक देखि ६० हजारसम्म मतदाता भएको निर्वाचन क्षेत्रका लागि चार जना, ६० हजार एक देखि ७५ हजारसम्म मतदाता भएको निर्वाचन क्षेत्रका लागि पाँच जना, ७५ हजारभन्दा बढी मतदाता भएको निर्वाचन क्षेत्रको लागि छ जना कर्मचारी काजमा ल्याउन सकिनेछ ।

मतदान केन्द्रका लागि आवश्यक पर्ने अन्य निर्वाचन सामग्रीको चेकजाँच, रुजु, भण्डारण, बाँडफाँट तथा वितरण गर्ने प्रयोजनको लागि निर्वाचन अधिकृतको कार्यालयमा खटिएका कर्मचारीबाट अपुग हुने देखिएमा निर्वाचन अधिकृतले बढीमा पाँच दिनका लागि थप जनशक्ति काजमा ल्याई कार्यसम्पादन गर्न सकिनेछ ।

सोका लागि एक सयसम्म मतदान केन्द्र भएका निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयको लागि राजपत्र अनङ्कित वा सो सरहको एक जना र श्रेणी विहीन वा सो सरहको कर्मचारी एक जना गरी जम्मा दुई जना, एक सय एकदेखि दुई सयसम्म मतदान केन्द्र भएका निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयका लागि राजपत्र अनङ्कित वा सो सरहको कर्मचारी दुई जना र श्रेणी विहीन वा सो सरहको कर्मचारी एकजना गरी तीन जना, दुई सय भन्दा बढी मतदान केन्द्र भएका निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयका लागि राजपत्र अनङ्कित वा सो सरहको कर्मचारी तीन जना र श्रेणी विहीन वा सो सरहको कर्मचारी एक जना गरी चार जना रहन सक्नेछन् ।

आयोगले निर्वाचन कार्यालयको मौजुदा जनशक्तिबाट निर्वाचनसम्बन्धी काम समयमा सम्पन्न गर्न नसकिने भएमा निर्वाचन कार्यालयले निर्वाचनको मिति घोषणा भएपछि बढीमा दुई महिनाको लागि कर्मचारी काजमा लिन सक्नेछ ।

निर्वाचनमा नखटाइने कर्मचारी

निजामती कर्मचारी, शिक्षक तथा अन्य सरकारी सङ्घ संस्थासँग सम्बद्ध राष्ट्रिय स्तरको ट्रेड युनियनका सङ्घ, प्रदेश र जिल्ला कार्यसमितिका पदाधिकारी, कुनै कर्मचारीको नजिकको नातेदार उम्मेदवार भएमा सो निर्वाचन क्षेत्रमा त्यस्तो कर्मचारीलाई निर्वाचनको काममा नखटाइने व्यवस्था निर्देशिकाले गरेको छ ।

जनशक्ति व्यवस्थापन निर्देशिकामा कार्यालयको सुरक्षार्थ खटिएका सुरक्षा गार्ड, पाले पहरा बस्ने कर्मचारी र स्वास्थ्य सेवा, विद्युत्, टेलिफोन, बैङ्क, वारुणयन्त्र, खानेपानी जस्ता अत्यावश्यक सेवा प्रदान गर्ने निकायका कर्मचारीलाई त्यस्तो सेवाका लागि वैकल्पिक व्यवस्था नगरी निर्वाचन कार्यमा खटाउनु हुँदैन भनिएको छ ।