• १४ वैशाख २०८१, शुक्रबार

तिहारमा तस्करी बढ्यो : सामान नियन्त्रणमा

blog

प्रहरीले बरामद गरेको करिब सात लाख रुपियाँको अवैध कपडा । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, कात्तिक १२ गते । चाडपर्व आएपछि नाकाबाट तस्करी र अवैध आयात निर्यात वृद्धि हुनेगरेको छ । तिहार सुरु भएपछि भारतबाट विभिन्न मालसामानको तस्करी भएको स्थानीयको भनाइ छ ।  

तिहारमा सबैभन्दा बढी विक्री हुने लुगा कपडा भारतबाट अवैध रूपमा भन्सार छलेर लुगा तथा तयारी कपडाको अवैध आयात बढेको छ । तस्करहरूले राति र बिहान भारतबाट त्यस्ता सामानहरू भित्र्याउने गरेको पाइएको छ । 

अवैध रूपमा भन्सार राजस्व छलेर नेपालगन्ज ल्याइएको ठूलो परिमाणको महिलाले लगाउने भित्री वस्त्र प्रहरीले बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका १३ बुलबुलीयाबाट प्रहरीले करिब ७ लाख रुपियाँ बरावरको अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार प्रहरीलाई देख्नासाथ सो बस्त्र छाडेर तस्कर फरार भएपछि सो सामान बरामद भएको थियो । प्रहरीले ४ हजार ४६३ पिस महिलाले लगाउने भित्री बस्त्र बरामद गरेको जनाउँदै उहाँले ती सामानको भन्सार मूल्य ६ लाख ६९ हजार ४५० रुपियाँ रहेको बताउनुभयो । 

चाडपर्वको मौका छोपेर तस्करले भारतबाट भन्सार छली गरेर विभिन्न सामान ल्याउने आशङ्का पहिलेदेखि नै रहेकाले प्रहरीलाई नाकामा तैनाथ गरिएको र प्रहरी गस्ती समेत बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।