• १४ वैशाख २०८१, शुक्रबार

एक अर्काबाट पराजित मरासिनी र थापाको तेस्रो प्रतिस्पर्धा

blog

अर्जुन काफ्ले

स्याङ्जा, असोज ३१ गते । मङसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्याङजाको क्षेत्र नम्बर १ मा दुई उम्मेदवार तेस्रो पटक भिड्ने भएका छन् । नेकपा एमालेबाट गण्डकी प्रदेश कमिटी सदस्य नारायणप्रसाद मरासिनी र नेपाली काँग्रेस (सत्ता गठबन्धन) बाट जिल्ला सभापति राजु थापा भिड्ने भएका हुन् । 

वि.सं. २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पहिलो भेटमा थापाले मरासिनीलाई एक हजार २८८ को मतान्तरले हराउनुभएको थियो भने मरासिनीले १५ हजार ४११ मत ल्याउनुभएको थियो । 

२०७४ सालको संसदीय निर्वाचनमा बाम गठबन्धनबाट एमालेका मरासिनीले थापालाई १० हजार ५६४ मतको मतान्तरले हराउँदै संविधान सभाको निर्वाचनको बदला लिनुभएको थियो । 

नेपाली काँग्रेसका थापाले २८ हजार ६६२ मत प्राप्त गर्नुभएको थियो । मङ्सिरमा हुने निर्वाचनमा जसले जिते पनि दोस्रो पटक जित हुनेछ । 

गत निर्वाचनमा यहाँ एक लाख आठ हजार ६८९ मतदाता रहेको यो क्षेत्रमा अहिले क्षेत्र नम्बर १ मा १८ हजार ७२२ मतदाता थपिएका छन् । 

यस्तै, गत निर्वाचनमा मिलेका एमाले र माओवादी फरक फरक छन् भने एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी भएको छ । आसन्न निर्वाचनमा काँग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतका दल एकै ठाउँमा भएकाले आफूले जित्ने थापाले दाबी गर्नुभयो । 

ओली सरकारले राम्रो काम गर्दागर्दै पनि सत्ताबाट हटाएको बताउँदै मरासिनीले आफ्नो जितलाई रोक्न कसैले नसक्ने बताउनुभयो । 

यहाँकाे निर्वाचनमा विभिन्न दल र स्वतन्त्र गरी १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।