• १४ वैशाख २०८१, शुक्रबार

दूषित खाद्य पदार्थ उत्पादन गर्नेलाई कारबाही

blog

इनरुवा समाचारदाता 

इनरुवा, असोज २७ गते । दूषित, गुणस्तरहीन तथा मिसावटयुक्त सामग्री उत्पादन गरेको भन्दै रिजाल टासी इन्डस्टिज प्रालि इटहरीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीले कारबाही चलाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका प्रमुख काशीनाथ घिमिरेले दिनुभएको जानकारीअनुसार दूषित खाद्य पदार्थ शीर्षकमा भदौ २ गते सुनसरी जिल्ला अदालतमा कारबाहीको मुद्दा दर्ता गरिएको हो । 

कार्यालयका सृजन जोशी सूचक भएर कारबाही र जरिवानासहितको माग गर्दै मुद्दा दर्ता गरेको जनाइएको छ। कार्यालयले यसअघि सुनसरी जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा दायर गरेको मुद्दामा सातवटा कम्पनी तथा सञ्चालकहरूलाई कारबाही भएको थियो । प्रमुख काशीनाथ घिमिरेले दिनुभएको जानकारीअनुसार कारबाही गर्दा र मुद्दा चलाउँदा न्यु रानी किराना स्टोर्स इटहरीलाई ५० हजार जरिवाना, जय बालाजी फुड्स इन्डस्ट्रिज इटहरीलाई ५० हजार, खनाल फुड प्रोडक्ट्स इटहरीलाई दुई हजार, पूर्वाञ्चल मिल्क एन्ड फुड्स प्रालिलाई १० हजार, बाबा फुड प्रोडक्ट इटहरीलाई २० हजार, दिव्यश्वरी जल उद्योग इटहरीलाई १० हजार र कोसी फिड प्रालि रामधुनीलाई २० हजार रुपियाँ जरिवाना भएको थियो।