• १४ वैशाख २०८१, शुक्रबार

समितिलाई दुई दिनको भेटी

blog

कास्की समाचारदाता

कास्की, असोज २५ गते । तालवाराही मन्दिरबाट सङ्कलित भेटी अझै पनि पुजारीको पोल्टामा जाने गरेको छ । मन्दिरकै पैसाले पुजारीले घरपरिवार चलाउने गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७३ साल कात्तिकदेखि लागू हुने गरी धार्मिक स्थलको भेटी व्यवस्थापनसम्बन्धी निर्देशिका बनाएको थियो । 

निर्देशिकामा स्थानीयस्तरमा कानुनद्वारा गठित वा जनस्तरबाट गठित कुनै पनि समितिले व्यवस्थापनका रूपमा काम गर्न सक्नेछ । यसका लागि मन्त्रालयबाट स्वीकृति प्राप्त गर्नुपर्दछ भन्ने एउटा प्रावधानको परीक्षण ३ दफा ६ एकमा उल्लेख गरेको छ । तर त्यसअनुसार तालवाराही मन्दिरको भेटी व्यवस्थापन समितिको साटो अझै पनि पुजारीले लिने गरेका छन् । वाराही मन्दिर संरक्षण–व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले वर्षमा दुई पटक मात्र समितिले भेटीको पैसा पाउने गरेको बताउनुभयो । 

वैशाख १ गते र दशैैँको पूर्णिमाको दिनको पूरै भेटी समितिलाई आउने गरेको छ । पहिला एक दिन मात्र समितिले पाउँथ्यो अहिले तीन वर्षयता नयाँ वर्षको एक दिनको भेटी पनि समितिलाई पाउने व्यवस्था मिलाएका छौँ,” उहाँले भन्नुभयो । 

यो पटकको पूर्णिमाको मेलामा समितिको पोल्टामा चार लाख भेटी परेको छ । अध्यक्ष कुँवरका अनुसार यो रकम अहिलेसम्मकै सबैभन्दा बढी हो । “पूर्णिमाको बिहानदेखि बेलुका ६ बजेसम्म भित्र बाहिर उठेको पैसा सबै समितिलाई दिने निर्णय भएको छ । यो निर्णय २०५८ सालदेखि सुरु गरिएको हो,” उहाँले भन्नुभयो । उहाँका अनुसार समितिमा अहिले झन्डै ७० लाख रुपियाँ छ । एक करोड ४० लाख खर्च छ । २०१७ सालमा बनेको मन्दिर तुरुन्त बनाउनुपर्ने आवश्यक रहेको छ । मन्दिरमा परशुराम पहारी, महेश्वर पहारी, कमलप्रसाद पहारी, नारायण अधिकारी, कृष्ण पहारी र सन्तोष पहारी पुजारीका रूपमा हुनुहुन्छ । 

प्रत्येक दुई महिनामा एक पटक पालो आउने पुजारीको भागमा वर्षमा लाखौँ रुपियाँ आउने गर्छ । यसका साथै हरेक दिन १५० रुपियाँ मन्दिर व्यवस्थापनमा जम्मा गर्ने अध्यक्ष कुँवरले बताउनुभयो । पटक–पटक गरी ११ पटक समितिको अध्यक्ष बन्नुभएका कुँवरले आफ्ना बुवाको स्मृतिमा नेपालको झन्डा (तामा)को र दुईवटा पानीको ट्याङ्की निर्माण गरिएको जानकारी दिनुभयो ।