सिराज खान
नेपालगन्ज, फागुन ३० गते। नेपाल भारत खुला नाकाका कारण विभिन्न प्रलोभनमा पारेर नाका पार गराई मानव बेचविखन गर्ने कार्य भइरहेकोप्रति नेपाल र भारतका सुरक्षा अधिकारीले आफूहरु गम्भीर भएका जनाएका छन्।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले राम्रो रोजगार लगायत आर्थिक प्रलोभनमा पारेर दलालले नेपाली युवती र महिलालाई नाका पार गराउने गरेकोले नाकामा प्रभावशाली समन्वय संयन्त्रको आवश्यकता औंल्याउनुभयो।
बाँके जिल्लाका प्रहरी प्रमुख एसपी सुभाषचन्द्र बोहोराले मानवबेचविखनमा लागेकाले निरन्तर आफ्नो शैली र तरिका परिवर्तन गर्दै प्रविधिको समेत दुरुपयोग गरेर सो काम गरिरहेकोले उनीहरुलाई तह लगाउन नाकामा कडाईसँगै दुबै देशका अधिकारीबिचको समन्वय र सहकार्यमा विशेष जोड दिनुभयो।
नेपालगन्ज उपमहानगरपालिकका प्रमुख प्रशान्त विष्टले मानव बेचबिखन रोक्न नेपाल भारतबिच समन्वय र सहकार्य विगतदेखिनै हुँदै आए पनि त्यसलाई प्रविधियुक्त र प्रभावकारी बनाउँदै लैजानु आवश्यक रहेको बताउनुभयो।
शक्ति समूहका निर्मला पौडेलले पछिल्लो समयमा मानव बेचविखन रोक्नु चुनौती बन्दै गएको बताउनुभयो।
माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले पछिल्लो समय प्रविधिको प्रयोग गरेर दलालले नेपाली युवतीलाई नाका पार गराउने भएकोले सो रोक्न परिश्रम गर्नुपरेको बताउनुभयो।
मानवबेचविखन रोक्न नेपाल र भारतका सुरक्षा निकायसँगै संघसंस्थाबिच पनि समन्वय र सहकार्य गर्नका लागि समय समयमा दुबै देशका सिमावर्ती सहरमा विभिन्न बैठक र अन्तरक्रियाहरु हुँदै आएका छन्।