• १३ साउन २०८१, आइतबार

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सुरु

blog

कार्यक्रम उद्घाटन गर्नुहुँदै प्रधान सेनापति प्रभुराम शर्मा ।

सचिन पोख्रेल

शिवपुरी (काठमाडौं), फागुन ३० गते। प्रधान सेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय मञ्चमा हाल भइरहेको द्वन्द्व एवं युद्धका घटनाले शक्ति राष्ट्र बिचको ध्रुवीकरण बढ्दै गएको धारणा व्यक्त गर्नुभएको छ।

उहाँले विश्वमा नयाँ शितयुद्धको थालनी हुन लागेको आभास हुँदै गइरहेको भन्नु हुँदै विश्वका शक्ति राष्ट्र बिचको प्रत्यक्ष/परोक्ष टकराव, बदलिँदो राजनीतिक परिस्थिति र शक्ति केन्द्रको रुपमा स्थापित हुने होडबाजीले भौगोलिक एवं आर्थिक रुपमा साना मुलुकलाई आफ्नो अस्तित्वलाई अक्षुण राख्न चुनौती थपिएको बताउनुभयो।

रक्षा मन्त्रालय तथा नेपाली सेनाद्वारा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा संयुक्त रुपमा आयोजित उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको बुधबार शुभारम्भ गर्दै प्रधान सेनापतिले सो धारणा व्यक्त गर्नुभएको हो।

उहाँले प्रत्येक राष्ट्र आफ्ना आधारभूत मूल्यमान्यताको संरक्षणसहित राष्ट्रिय पहिचान, सार्वभौमसत्ता र अखण्डता कायम गर्दै जनतालाई सुरक्षित, भयरहित एवं आत्मसम्मानपूर्ण जीवन जिउन र आफ्ना गतिविधि सञ्चालन गर्न प्रयत्नशील हुने अवस्था रहेको बताउनुभयो ।

उहाँले नेपालले पनि जनतालाई भौगोलिक, सामाजिक, आर्थिक एवं राजनीतिक रुपमा पूर्ण सुरक्षित राख्न विभिन्न नीति तथा रणनीति अख्तियार गर्दै आइरहेको उल्लेख गर्नुभयो।

प्रधान सेनापति शर्माले नेपालको सन्दर्भमा संवेदनशील भूराजनीति, खुला सिमाना र विभिन्न शक्ति राष्ट्रको स्वार्थ राष्ट्रिय सुरक्षा चुनौतीको रुपमा हेरिने गरिएको उल्लेख गर्दै आन्तरिक रुपमा बढ्दै गइरहेको धार्मिक तथा साम्प्रदायिक विवादका साथै सुसुप्त अवस्थामा रहेका केही विखण्डनवादी वा पृथकतावादी समूहका गतिविधिले राष्ट्रिय सुरक्षामा प्रभाव पारिरहेको बताउनुभयो।

राष्ट्रिय सुरक्षाको सन्दर्भमा देखिएको चुनौतीका विषयमा चर्चा गर्दै उहाँले श्रम आप्रवासन, युवाको वैदेशिक पलायन, विभिन्न युद्धरत देशका सेनामा नेपालीको संलग्नता, जलवायु परिवर्तनको बढ्दो असर, अतिवृष्टि, अनावृष्टि, सुक्दै गएका पानीका स्रोत, चुरे विनाशका कारण तराईमा परिरहेको असर र त्यसबाट हाम्रो खाद्य सुरक्षामा पर्ने प्रभाव, विपद् तथा पर्यावरण सिर्जित मृत्युदरमा भइरहेको वृद्धि लगायगका विषय हाम्रा लागि मानव सुरक्षाका दृष्टिकोणले तत्काल विचार गर्नुपर्ने महत्त्वपूर्ण विषय बनेको स्पष्ट पार्नुभयो।

सूचना प्रविधि एवं ‘आर्टिफिसियल इन्टेलिजेन्स’ मा आधारित प्रविधिको विकासले सुरक्षा क्षेत्रमा नयाँ चुनौती थप्नुका साथै सैन्य रणनीति र सिद्धान्तलाई पुनःपरिभाषित गर्न खोजिरहेको हुँदा यस्ता नविनतम प्रविधिले ल्याएका समस्या र त्यसबाट जनमानसमा परिरहेको प्रभावलाई पनि सम्बोधन गर्न जरुरी रहेको उहाँको भनाइ छ ।



उहाँले प्रभावकारी सुरक्षा वातावरण निर्माण गर्न परम्परागत एवं अपरम्परागत सुरक्षाका विविध पक्ष एवं आर्थिक, सामाजिक विकासको नक्शालाई राम्रोसँग बुझी सबै संयन्त्रले राष्ट्रिय रुपमा तर्जुमा गरिएका नीति नियमलाई इमानदारीपूर्वक कार्यान्वयन गर्नु आजको प्रमुख आवश्यकता रहेको उल्लेख गर्दै विश्वको बदलिँदो सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रिय सुरक्षा नीति तथा रणनीति लगायत सम्बन्धित योजना तर्जुमा र परिमार्जन गर्न अपरिहार्य रहेकोले तालिमका सहभागीलाई परम्परागत तथा अपरम्परागत सुरक्षा चुनौतीको सँगसँगै पहिचान तथा विश्लेषण गरी राष्ट्रिय सुरक्षामा यस्ता तत्त्वको महत्त्वलाई सूक्ष्म र गहन तवरबाट विश्लेषण गर्न अनुरोध गर्नुभयो ।

उहाँले बाह्य तथा आन्तरिक सुरक्षा वातावरणको अध्ययन र विश्लेषण गर्दै हाम्रो राष्ट्रिय हित र स्वार्थको संरक्षणको लागि महत्त्वपूर्ण नीति तर्जुमा तथा कार्यान्वयन गर्न तालिमले टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

समारोहमा रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको विशिष्ट महत्त्व, आवश्यकता र उपादेयता रहेको बताउनुभयो।उहाँले विशेषतः उच्च पदस्थ अधिकारीलाई राष्ट्रिय सुरक्षासँग सम्बद्ध महत्त्वपूर्ण विषय र बाह्य सुरक्षा वातावरणले हाम्रो राष्ट्रिय परिवेशमा उत्पन्न गर्न सक्ने असर र आयाम लगायतका विषयमा परिचित गराई राष्ट्रिय सुरक्षाका बारेमा समान धारणा र बुझाई विकास गर्न यो तालिम उपयोगी हुने बताउनुभयो।

रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा सञ्चालन हुँदै आएको तालिमको नवौँ संस्करण आजबाट मिति २०८० चैत्र १६ गतेसम्म सञ्चालन हुनेछ।तालिममा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सरकारी तथा गैर सरकारी संस्था, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारी तथा सञ्चारकर्मीसहित तीस जनाको सहभागिता रहेको छ।