• १५ जेठ २०८१, मङ्गलबार

पीएनजीले दियो नेपाललाई १७२ रनको प्रतिस्पर्धात्मक लक्ष्य

blog

काठमाडौं, फागुन ३० गते । हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा जितका लागि नेपाललाई पपुवा न्युगिनी (पीएनजी)ले एक सय ७२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा टस हारेर पहिले याटिङ गर्ने निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७१ रन बनायो ।

पीएनजीका लागि ओपनर टोनी उराले ६१ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो ।

यस्तै हिला भारेले १८, हिरी हिरीले १५, किपलिन डोरिगाले १४ र चाँद सोपरले १३ तथा अलि नाओले अविजित ३० रन बनाउनुभयो । बलिङमा नेपालका कुशल भुर्तेल र आकाश चन्दले तीन तीन विकेट लिनुभयो । करण केसी र गुलशन झाले एक एक विकेट लिनुभयो ।

यसअघि मङ्गलबार भएको लिग चरणको दोस्रो खेलमा पीएनजीले घरेलु टोली हङकङलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

मङ्गलबार नै भएको खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएर फाइनलमा स्थान बनाएको थियो । आयोजक हङकङ भने लिग चरणको अन्तिममा रहेको थियो । नेपालले आगामी जुनमा आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि हङकङमा त्रिकोणात्मक सिरिज खेलेको हो ।