• ६ जेठ २०८१, आइतबार

बाँदरपीडित किसान भन्छन्, ‘मलामी जाँदा पनि कुरुवा राखेर जानुपर्छ’

blog

ढोरपाटन (बागलुङ),  फागुन ३० गते ।  जैमिनी नगरपालिका–४ सर्कुवाका तिलप्रसाद शर्माको दैनिकी हिजोआज घर कुरेरै बित्ने गरेको छ । घर छेउछाउका जङ्गल बढ्न थालेपछि बाँदरको हूल गाउँ छिरेको छ । गाउँ छिरेको बाँदरले बारीका मात्रै होइन घरमा राखेका अन्नपात खाइदिने गरेको छ । घर छोडेर एक्कै छिन यताउता जाने बित्तिकै सबै सामान नष्ट गरिदिने हुँदा तिलप्रसाद दिनभर घर कुरेर बस्नुहुन्छ । 

छरछिमेकी कोही विदेश गए, कोही बसाइसराइ गरेर तराई झरे, उहाँ भने आर्थिक अवस्था सामान्य हुँदा गाउँ छोडेर कतै जान सक्नुभएको छैन । दिनप्रतिदिन बाँदरले दुःख दिन थालेपछि तिलप्रसादसहित सर्कुवावासी आजित बनेका छन् । पछिल्लो समय गाउँबाट बसाइसराइ गर्नेको सङ्ख्या बढेको छ । गाउँमा भएका घर रित्तिँदै गएका छन् । रित्तो घरमा बाँदरले रजाइँ गरिरहेका छन् । सेवासुविधाको खोजीमा बसाइसराइ गर्ने बढेपछि गाउँ सुनसान हुँदै गएको छ । सुनसान गाउँमा बाँदरसँगै अन्य वन्यजन्तुले पनि बेला–बेला स्थानीयवासीलाई दुःख दिने गरेको छ ।

तिलप्रसादसँगै गाउँका अन्य धेरै मान्छेहरू दिनभर घर छोडेर बाहिर जाँदैनन् । जानै परे पनि एकजना घरकुरुवालाई राखेर जानुपर्ने स्थिति छ । बारीमा लगाएको अन्नबाली, फलफूल र तरकारीसमेत बाँदरले नष्ट गरिदिने हुँदा किसान मर्कामा पर्ने गरेका छन् । बाँदर धपाउनका लागि गाउँलेले अनेक उपाय नपाएका भने होइनन् । सुरुसुरुमा भाग्ने गरे पनि पछिपछि डराउनै छोडेका छन् । पाँच वर्ष अगाडिसम्म बाँदर कम भए पनि अहिले बढ्दै गएका छन् । अन्नबाली खाइदिनाका साथै मान्छेलाई आक्रमण गर्ने गरेको तिलप्रसाद बताउनुहुन्छ । 

उहाँले घर कुरेर नबस्ने हो भने साँझ फर्किँदै केही नरहने बताउनुभयो । बाँदर धपाउनका लागि धेरै प्रकारका जुक्ति लगाए पनि अहिले बाठिँदै गएपछि भाग्न छोडेको शर्माको भनाइ छ । काम परेर घरबाहिर जानु परे एकजना कुरुवा राख्नुपर्ने उहाँले बताउनुभयो । बढ्दो बाँदर आतङ्कका कारण गाउँमा गरिखान पनि हम्मेहम्मे पर्न थालेको तिलप्रसादले गुनासो पोख्नुभयो । “हुने खाने सबै गाउँ छोडेर बजार झरे, कोही तराई सरे, हामीजस्तो सामान्य अवस्था भएको मान्छे गाउँ छोड्न सकिएन, बाँदरले गर्दा कसैको जन्त र मलामी जाँदा पनि घरकुरुवा राखेर जानुपर्छ,” तिलप्रसादले भन्नुभयो, “हामीहरू निकै पीडित भयौँ, यसको समाधान खोज्नका लागि अनेक प्रयत्न ग¥यौँ तर अहिलेसम्म कुनै समाधान हुनसकेको छैन, पहिले त यस्तो समस्या हुँदैनथ्यो, दिनदिनै घर कुरेर बस्न त कहाँ सकिन्छ र रु कहिले के काम हुन्छ, बाहिर जानुपर्छ, सधैँ कुरुवा राख्न पनि सकिँदैन ।”

स्थानीयवासी होमनाथ पौडेलले गाउँमा मान्छे कम हुँदै गएपछि बाँदर बढेको बताउनुभयो । पहिलेसम्म जङ्गलमा मात्रै भेटिने बाँदर हिजोआज घरमै आएर सताउने गरेको उहाँको भनाइ छ । पहिलेको तुलनामा गाउँमा विकास भए पनि मान्छेहरू बजार झर्ने गरेको भन्दै बाँदरको दीर्घकालीन व्यवस्थापन गर्न नसके धेरैले गाउँ छोड्न बाध्य हुने पौडेलले बताउनुभयो । वनजङ्गल बढ्दै गएको र खेतीयोग्य जमिन पनि बाँझोमा परिणत हुँदै गएपछि गाउँ उराठिलो बन्दै गएको उहाँ बताउनुहुन्छ ।

पौडेलले भन्नुभयो, “बाँदरले गरिखान दिएन, बारीमा केही लगायो, पसाउन थालेपछि नष्ट गरिदिन्छ, घरको झ्यालबाटभित्र पसेर अन्नपात खाने र लत्ताकपडा च्यातिदिने गर्छ, हुन त पहिले गाउँमा धेरै मान्छे थिए, अहिलेको जस्तो सुनसान थिएन, त्यही भएर बाँदर नआएको होला, अहिले त घरहरू खाली हुँदै गए, वनजङ्गल जान पनि छोडे, सुनसान हुँदै गएपछि बाँदर वनबाट गाउँ आएको हुनुपर्छ, नत्र त पहिले पनि आउनुपर्ने हो ।” 

सर्कुवासँगै जैमिनीका अन्य गाउँमा पनि बसाइसराइले खेतीयोग्य जमिन वनमाराले ढपक्कै ढाकिएका छन् । वरपरका रूख बिरुवा बढेर गाउँ छेकिन थालेको छ । गाउँमा बुढापाकाबाहेक अरू कोही छैनन् । युवाशक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका हुन् । एक दशक अगाडिसम्म रमाइलो गाउँबस्ती हिजोआज उराठलाग्दो बनेका छन् । सेवासुविधा घरकाे दैलोमै पुगेका छन् तर सेवासुविधाको उपभोग गर्ने मान्छे निकै कम छन् ।

विकासले नछुँदा मान्छेको चहलपहल हुने गाउँ अहिले खाली हुँदै गएका छन् । दिनप्रतिदिन बजार झर्नेको सङ्ख्या बढ्दै गएपछि गाउँमा बस्नेलाई वन्यजन्तुले सास्ती दिन थालेका छन् । बाँदर नियन्त्रणका लागि जैमिनी नगरपालिकाले ‘मङ्की पार्क’ बनाउने योजना अगाडि बढाए पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले बाँदर पार्क बनाउने बृहत् योजना भएको हुँदा विभिन्न तहका सरकारसँग समन्वय गरेर काम अगाडि बढाउने बताउनुभयो । 

बाँदर पार्क बनाउने योजना नेपालमै नयाँ भएको हुँदा चुनौतीपूर्ण भएको उहाँको भनाइ छ । नगरपालिका दृढ सङ्कल्पका साथ यो योजना सफल बनाउन लागिरहेको प्रमुख पुनले बताउनुभयो । त्यो योजना पूरा नहुँदासम्म स्थानीयवासीले बाँदर धपाउनका लागि परम्परागत जुक्ति अपनाउनुपर्नेमा जोड दिनुभयो । “बाँदरले निकै दुःख दिएको हामीहरूले महसुस गरेका छौँ, हामी आफैँ पनि भोगेका छौँ, बाँदर आतङ्क बढ्नाका कारण गाउँ सुनसान हुनु नै हो, हामीहरू गाउँमा हरेक प्रकारका सुविधा पुर्‍याउन खोजी रहेका छौँ तर धेरै बसाइसराइ गरेर बाहिर जानुहुन्छ,” नगरप्रमुख पुनले भन्नुभयो, “बाँदर नियन्त्रण कसरी गर्न सकिन्छ भनेर धेरै पटक सोच्यौँ, धेरैतिरबाट बाँदर पार्क बनाउने सुझाव आएअनुसार यसलाई अगाडि बढाएका हौँ, यो काम नेपालमै नौलो हो, धेरै खर्चिलो हुने र समय पनि धेरै लाग्छ, यसको काम अगाडि बढाउनका लागि वनले अनुमति दिनुपर्छ, अहिलेसम्म अनुमति दिएको छैन, यस वर्ष पनि बजेट विनियोजन गरेका छौँ, धेरै समय लागे पनि निरन्तर काम गर्दै गएर यो योजना पूरा गर्ने लक्ष्य लिएका छौँ ।”  रासस