• १२ साउन २०८१, शनिबार

जिल्ला अस्पताल भवन निर्माणको काम ठप्प

blog

निर्माणाधिन जिल्ला अस्पताल खोटाङको भवन ।

राजकुमार भट्टराई

खोटाङ, फागुन २९ गते । जिल्ला अस्पताल खोटाङको भवन निर्माणको काम ठप्प भएको छ । सम्झौता अनुसार गत पुसमा निर्माण सम्पन्न हुनुपर्ने ५० शय्याको अस्पतालको भवन ठप्प भएको हो । 

जिल्ला अस्पताललाई २५ देखि ५० शय्यामा स्तरोन्नति गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार १५ शय्याको जिल्ला अस्पतालका लागि ५० शय्याको भवन निर्माण सुरु गरिएको थियो । श्याम सुन्दर-रामसागर-नेपाल फूलबारी जेभीले ३० महिनामा सक्नेगरी २०७८ असार २४ गते अस्पताल भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । 

सम्झौता अनुसार गत पुस २४ गते म्याद सकिएको छ । तर भवन निर्माणको काम सम्पन्न नगरी निर्माण कम्पनी सम्पर्कविहीन बनेको जिल्ला अस्पताल खोटाङका डा. रुपेश सङ्ग्रौलाले बताउनुभयो । "अस्पताल भवन निर्माणको निरन्तर भइरहेको थियो, गत पुसबाट काम ठप्प भएको छ । भुक्तानी नभएर हो वा अन्य के कारणले हो, अहिले काम भएको छैन," डा. सङ्ग्रौलाले भन्नुभयो, "यस बिचमा एक-दुई दिन प्लास्टर गरे । एक ट्याक्टर बालुवा पनि थुपारेको थियो, तर पुनः अहिले केही काम भएको छैन ।" 

सघन सहरी तथा भवन निर्माण आयोजना, ओखलढुङ्गामार्फत प्राप्त २२ करोड ९० लाख ४७ हजार ९२ रुपियाँ (भ्याट सहित)मा अस्पताल भवनको ठेक्का लागेको हो । सम्झौता अनुसार गत पुस २४ गते भवन निर्माणको म्याद नाघिसकेको छ । आयोजनाका लागि थप १५ महिना म्याद थप भएको बताइएको छ । 

४० मिटर लम्बाई र २०.५ मिटर चौडाइको भएको चार तले अस्पताल भवन निर्माणको अन्तिम चरणमा पुगेपछि काम रोकिएको हो । कामलाई निरन्तरता दिनका लागि फोन गर्दा निर्माण व्यवसायी बाबुराम कट्वाललको मोबाइल अफ हुने गरेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताउनुभयो । "ठेकेदारलाई धेरै चोटि फोन गरेँ, प्राय मोबाइल स्वीचफ हुने गरेको छ, कामदारले पनि पैसा पाएको रहेनछन्, हामीलाई गुनासो पोख्न थालिसकेका छन्," प्रमुख राईले भन्नुभयो, "धेरै पटक सम्पर्क गर्न खोज्दा बल्ल सोमबार ठेकेदार सम्पर्कमा आएका छन् । उहाँसँग छलफल पनि भएको छ । अब चाडै काम सुरु गर्छौँ भनेका छन् ।"