• १२ साउन २०८१, शनिबार

नमुना सदरमुकामको प्रक्रिया अगाडि बढ्यो

blog

नमुना सदरमुकाम निर्माणका लागि सरोकारवालाको छलफल। तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, फागुन २९ गते। पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा नमुना जिल्ला सदरमुकाम निर्माणका लागि खरिद प्रक्रिया अगाडि बढ्ने भएको छ। मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाको छलफलमा चैत्र पहिलो साताबाट खरिद प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो। 

अर्थमन्त्रालयबाट बजेटको स्रोत सुनिश्चित भएसँगै पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय र दुई वटा एकीकृत भवन निमार्णको लागि  सघन सहरी तथा भवन निमार्ण विभाग चितवन कार्यालय मार्फत प्रक्रिया अगाडि बढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभयो।

मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाको छलफलमा गण्डकी प्रदेश सभा सदस्य रोशनबहादुर गाहाले पहिलो चरणमा तीन कार्यालयको खरिद प्रक्रिया तत्काल अगाडि बढाउने र दोस्रो चरणमा प्राथमिकताका आधारमा निमार्ण गर्ने गरी विस्तृत परियोजना प्रस्ताव (डीपीआर) तयार गरेर निमार्ण कार्य अगाडि बढाउने छलफल भएको बताउनुभयो।   

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनका प्रमुख झपटबहादुर थापाले बहुवर्षीय कायम गर्ने विषय अर्थ मन्त्रालयबाट निर्णय नहुँदा निर्माण कार्य अघि बढ्न सकेको थिएन। 

एकीकृत रूपमा सरकारी कार्यालय एकै ठाउँमा निमार्ण हुने ढङ्गले नमुना सदरमुकामको शिलान्यास भएको चार वर्ष पुगेको छ । रकम थोरै भएको र प्रक्रिया अगाडि बढाउन समेत समस्या भएको भन्दै सघन सहरी तथा भवन निमार्ण विभागले कार्य सुचारु नगर्दा स्थानीय समेत चिन्तित भएका थिए। 

जिल्लाको सदरमुकाम कावासोतीमा रहेको एक सय ८७ बिघा जग्गामा सङ्घ र प्रदेश मातहतका सबै कार्यालय एकै स्थानमा निर्माण गर्ने गरी अघि बढाइएको थियो। नमुना सदरमुकाम निर्माणस्थलमा सङ्घ मातहतका १६, प्रदेश मातहतका ११ कार्यालय निर्माण गर्ने गरी प्रारम्भिक गुरुयोजना तयार पारिएको थियो। साथै पुस्तकालय, सभा हल, बैङ्क, अतिथिगृह, आवास गृह, रङ्गशाला, सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्कलगायतका संरचनासमेत निर्माण गर्ने योजना रहेको छ।