• १२ साउन २०८१, शनिबार

‘राष्ट्रिय सभालाई देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्छु’

blog

राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहाल । तस्बिर : गोरखापत्र

काठमाडौं, फागुन २९ गते । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभालाई ओझपूर्ण र देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्ने बताउनुभएको छ ।

मङ्गलबार राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिनुहुँदै अध्यक्ष दाहालले राष्ट्रिय सभालाई ओझपूर्ण, गरिमामय र देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्ने बताउनुभएको हो ।

अध्यक्ष दाहालले राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने कानुन निर्माण लगायत हरेक कामलाई गम्भीरताका साथ लिएर अगाडि बढ्ने जानकारी दिनुभयो । उहाँले विभिन्न पार्टीसँग आबद्ध राष्ट्रिय सभा सदस्यहरूलाई एकताबद्ध बनाएर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको औँल्याउनुभयो । उहाँले संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर सभाको गरिमा बढाउने गरी काम गर्ने बताउनुभयो ।

‘‘राष्ट्रिय सभाको गरिमालाई माथि उठाउने कुरा र राष्ट्रिय सभाले गर्नुपर्ने सबै दायित्व, भूमिकालाई पूरा गराउनको निम्ति म सबै दलसँग आबद्ध सदस्यहरूलाई एकताबद्ध बनाएर लैजाने कुरामा प्रतिबद्ध छु । संविधानमा उल्लेख भए अनुसार राष्ट्रिय सभाले निर्वाह गर्नुपर्ने भूमिका देश र जनताको निम्ति, कार्यपालिकासँग जोडिएर गर्नुपर्ने भूमिकाहरूलाई स्थापित गर्ने, गरिमा बढाउने भूमिका पूरा गर्न कोसिस गर्छु ।,’’  नवनिर्वाचित अध्यक्ष दाहालले भन्नुभयो, ‘‘राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरताका साथ अगाडि बढ्छु । त्यो कानुन निर्माण होस् अथवा अरू सवाल किन नहोस् । राष्ट्रिय सभालाई ओझपूर्ण, गरिमामय र देशको अति आवश्यक संस्था रहेछ भन्ने खालको बनाउन प्रयत्न गर्नेछु ।’’

अध्यक्ष दाहालले राष्ट्रिय सभा अध्यक्षको रूपमा आफू सफल हुने कुराको आत्मविश्वास रहेको बताउनुभयो ।