• १५ वैशाख २०८१, शनिबार

नेपाल त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा

blog

पीएनजीविरुद्ध रन बनाएपछि नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, फागुन २९ गते । कुशल भुर्तेलले अलराउन्डर प्रदर्शन गरेपछि नेपाल त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा प्रवेश गरेको छ । 

हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा मङ्गलबार बिहान भएको सिरिजको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ८५ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । जितसँगै नेपालले दुई खेलबाट तीन अङ्क बनाएको छ । नेपाल र घरेलु टोली हङकङबीचको पहिलो खेल वर्षाका कारण विना नतिजा टुङ्गिएको थियो ।


जितका लागि नेपालले दिएको एकसय ९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय १३ रनमा समेटिएको थियो । पिएनजीका लागि हिरी हिरीले सर्वाधिक २८ रन बनाउनुभयो ।

सेसे बाउले २१, टोनी उराले १३ र नसैना पोकनाले १२ रन जोड्नुभयो । बलिङमा नेपालका कुशल भुर्तेलले चार विकेट लिनुभयो । यस्तै प्रतिश जिसीले दुई तथा आकाश चन्द र गुल्सन झाले एक एक विकेट झार्नुभयो । 


यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ९८ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ५९ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ३९ बलमा चार चौका र चार नै छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । 

यस्तै सन्दीप जोराले ५६ रन बनाउनुभयो । उहाँले २६ बलमा चार छक्का र तीन छक्काको सहयोगमा अर्धशतकीय इनिङ्स खेल्नुभएको हो । विनोद भण्डारीले २७, विवेक यालवले अविजित १९, गुल्सन झाले अविजित १५ र लोकेश बमले १४ रन जोड्नुभयो ।


बलिङमा पीएनजीका कप्तान असाद भालाले दुई विकेट लिनुभयो । नसैना पोकना, जोन कारिको र नोर्मन भानुआले एक एक विकेट झार्नुभयो । मङ्गलबार (आजै) हुने पीएनजी र हङकङबीचको अर्को खेलपछि फाइनलमा पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । 

नेपालले आगामी जुनमा आयोजना हुने टी–२० विश्वकप तयारीको लागि हङकङ र पीएनजीसँग हङकङमा त्रिकोणत्मक सिरिज खेलेको हो ।