• १२ मंसिर २०८१, बुधबार

सिप बिक्री नहुँदा छाक टार्न धौ धौ

blog

बाजुरा समाचारदाता

बाजुरा, फागुन २९ गते । बाजुराका अधिकांश गाउँबस्तीमा पछिल्लो समय निगालो र बाँसबाट बनेका डोका, डालो बिक्री हुन छाडेका छन् । गाउँबस्ती सडक सञ्जालमा जोडिएसँगै परम्परागत डोका, डालो, छापरा, सुप्पालगायत सामग्री बिक्री हुन छोडेका हुन् ।

दाउरा, घाँस र हाटबजारदेखि चामल, नुन, तेललगायत दैनिक खाद्यान्न सामग्री बोक्न प्रयोग हुने डोको पछिल्लो समयमा बिक्री नहुँदा यहाँका स्थानीयलाई पेट पाल्न चिन्ता परेको खप्तड छेडेदह गाउँपालिका–६ का अम्ला बुढाले बताउनुभयो ।

“पहिला गाउँनजिक बजार थिएन, खाद्यान्नका लागि दैनिक दुई/चार दिन पैदल यात्रा गर्नुपरेमा डोको आवश्यक हुन्थ्यो । त्यसैले त्यतिबेला डोको बिक्री गरेर पेट पाल्न सहज हुन्थ्यो, अहिले बिक्री हुँदैन,” उहाँले भन्नुभयो ।

अहिले गाउँबस्तीमै गाडी पुगेपछि आफ्नो सिप बिक्री नहुँदा कतिपयलाई कसरी पेट पाल्ने चिन्ता भएको बुढाले बताउनुभयो । “पहिलेको पुस्ताका सबैले गाउँमा अर्गानिक खेती लगाउँथे, त्यतिबेला वनबाट स्याउला ल्याउने चलन थियो । त्यसका लागि ठुल्ठुला डोका बुन्ने गथ्र्याैं । ती डोका गाउँमा बिक्री हुने गर्थे,” उहाँले थप्नुभयो । गाईभैँसीपालन नगर्ने र खेतीमा पनि रासायनिक मल प्रयोग गर्न थालेपछि डोका बिक्री हुन छाडेका छन् । 

फागुनदेखि चैत स्याउला लगाउने सिजन हुने भएकाले अहिले गाउँमा डोका बिक्री गर्नेको लाइन हुन्थ्यो । फागुन, चैतको महिनामा वनमा पात झर्ने भएकाले यहाँका स्थानीयलाई स्याउला ल्याउनका लागि डोकाको अति आवश्यक हुने गथ्र्यो । खप्तड छेडेदह गाउँपालिकाका काँडा, धनाल्त, आँटीचौरलगायतका अधिकांश स्थानीय पुस, माघमा डोका, डाला बुन्ने र फागुन, चैतमा ती डोका, डाला गाउँबस्तीमा लगेर बिक्री गर्ने गर्थे । 

गाउँका अन्य सबै रोजगारी गर्न भारत जाने गरेको भए पनि हातमा डोका बुन्ने सिप भएकाहरू भने घरमै बसेर डोका, डाला, सुप्पा बुनेर त्यसैबाट जीविकोपार्जन गर्दै आएका थिए । 

स्थानीय स्रोतसाधन निगाला र बाँसका विभिन्न सामग्री वडा, पालिकाले नै खरिद गर्ने योजना बनाएमा स्थानीयलाई पेट पाल्न र पेसा जोगाउन सहज हुने बुढाले बताउनुभयो । छेडेदह गाउँपालिका–३ का बिर्खबहादुर रावतले स्थानीयलाई आफ्नै जमिनमा निगाला खेती गर्न लगाउन अनुदानका कार्यक्रम दिने योजना ल्याउनुपर्ने बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “यसरी आफ्नो जमिनमा उत्पादन गरेको निगालाले डोका, डाला, छापरा बुन्ने सिप भएकालाई सहज हुने र वन क्षेत्रमा कम क्षति हुन्छ ।” स्थानीयले सिकेका परम्परागत सिप प्रयोगमा ल्याउनका लागि स्थानीय स्रोतसाधनलाई थप प्राथमिकता दिने योजना गाउँपालिकाको रहेको जनाएको छ ।