• १६ भदौ २०८१, आइतबार

एक करोड १६ लाख रुपियाँसहित पाँचजना पक्राउ

blog

नेपालगन्जको एक होटलबाट बरामद भएको स्रोत नखुलेको रकम । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन २८ गते । प्रहरीले बाँकेमा स्रोत नखुलेको एक करोड १६ लाख रुपियाँ बढी बरामद गर्न सफल भएको छ । प्रहरीले ३९ लाख रुपियाँ बरामद गरेको १५ घण्टा नपुग्दै फेरि स्रोत नखुलेको सो रकम बरामद गरेको हो । 

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले सोमबार दुईवटा होटलमा छापा मारेर एक करोड १६ लाख २२ हजार रुपियाँसहित पाँचजनालाई पक्राउ गरिएको बताउनु भयो । आइतबार साँझ प्रहरीले ३९ लाख २० हजार रुपियाँसहित तीनजनालाई पक्राउ गरेको थियो । 

उहाँले नेपालगन्जबाट दुई दिनमा प्रहरीले स्रोत नखुलेको एक करोड ३० लाख ४८ हजार ७०० नेपाली रुपियाँ र १५ लाख ४० हजार भारतीय रुपियाँ बरामद गरेको बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्रोत नखुलेको रकम रहेको सूचनाका आधारमा प्रहरीले सोमबार बसपार्कस्थित सन्तोष दङ्गाली होटलको एक कोठामा छापा मारेर ५७ लाख २८ हजार ७ सय नेपाली रुपियाँ बरामद गरेको थियो ।

प्रहरीले होटलका सञ्चालक कृष्ण विक, नेपालगन्जका रोहित क्षेत्री र भारतीय नागरिक राहुल जैसवाललाई पक्राउ गरेको एसपी बोहराले जानकारी दिनुभयो । उनीहरुको साथबाट भारतीय ११ लाख रुपियाँ पनि बरामद भएको एसपी बोहराले बताउनुभयो । 

त्यस्तै, बसपार्कस्थित होटल रोयल कर्णालीबाट नेपालगन्जका सलिम जोलाहा र आसिफ अन्सारीलाई ३४ लाख नेपाली रुपियाँ र चार लाख ४० हजार भारतीय रुपियाँसहित पक्राउ गरिएको एसपी बोहोराले बताउनुभयो । 

यसअघि आइतबार साँझ प्रहरीले स्रोत नखुलेको ३९ लाख २० हजार रुपियाँसहित राजपुर–१, बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगन्जका हबिब जसगढलाई पक्राउ गरेको थियो । 

बरामद रकम हुण्डी कारोबारको हुनसक्ने आशंका गरिएको छ तर त्यसको हालसम्म पुष्टि नभएको प्रहरीको भनाइ छ । 

बाँकेका प्रहरी प्रमुख बोहोराले बरामद पैसाको स्रोत नखुलेको जनाउँदै पक्राउ परेकाहरुको आपसमा सञ्जाल र त्यति धेरै रकम केका लागि र कसको हो भन्नेबारे गहिरिएर अनुसन्धान भइरहेको बताउनुभएको छ ।