• २३ वैशाख २०८२, मङ्गलबार

‘नीतिगत सुधारमा ध्यान दिनेछु’

blog

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी ।

काठमाडौं, फागुन २८ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नीतिगत सुधारमा ध्यान दिने बताउनुभएको छ ।

सोमबार आफ्नो निर्वाचन क्षेत्र सुनसरी क्षेत्र नम्बर ३ मा पुग्नुभएकी मन्त्री चौधरीले सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नीतिगत सुधारमा ध्यान दिने बताउनुभएको हो । उहाँले आफ्नो मन्त्रालय मानव जीवनसँग सम्बन्धित संवेदनशील मन्त्रालय भएको उल्लेख गर्नुहुँदै महिला, बालबालिका र ज्येष्ठ नागरिकहरूको हितका निम्ति नीतिगत परिमार्जन गर्नु आफ्नो प्राथमिकता हुने बताउनुभयो ।

उहाँले सातै प्रदेशमा वृद्धहरूका लागि वृद्धाश्रम खोल्ने र छोराछोरीले आफ्नो कमाइको ११ प्रतिशत बुबाआमालाई दिनुपर्ने नीति ल्याउने योजनामा रहेको बताउनुभयो । उहाँले महिला हिंसाका घटनाहरू हेर्नका लागि सबै स्थानीय तह र जिल्लामा छुट्टै महिला विभाग गठन गर्ने बारेमा आफू परामर्शमा रहेको पनि बताउनुभयो ।

‘‘कामको सुरुवात गर्दा नीतिगत परिमार्जनमा मेरो पहिलो कार्यभार अथवा जिम्मेवारी रहनेछ । त्यतातिर ध्यान दिनेछु । मानव संवेदनशील मन्त्रालय भएको हुनाले त्यसको लागि काम कसरी गर्ने ? सातै प्रदेशमा वृद्धहरूको लागि वृद्धाश्रम खोल्ने । आफ्नो छोराछोरीले आफ्नो कमाइको ११ प्रतिशत भाग बुबाआमालाई गर्नुपर्ने भन्ने नीति ल्याउने योजना गरेको छु । दिनानुदिन महिला हिंसाको घटना, चेलीबेटी बलात्कार भएको घटना दिनानुदिन देख्छौँ ।,’’ मन्त्री चौधरीले भन्नुभयो, ‘‘बालविवाह, छोरीचेली बाहिर लगिदिने घटना पनि भएकाले जघन्य अपराध गर्नेलाई कडा सजाय नीतिमै ल्याइदियो भने अलिकति डर हुन्छ । महिलाको नीतिमा परिमार्जन गर्ने । अनुगमन गर्ने । ७५३ वटै स्थानीय तहमा महिलाको विभाग छुट्टै हुनुपर्छ । जसले वस्तुगत अनुगमन गरोस् । महिला हिंसाको घटना हेर्नका लागि । महिला विकास विभागहरू जिल्लामा अगाडि बढाउनुपर्छ भन्ने सोचेको छु ।’’

मन्त्री चौधरीले वर्तमान सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म टिक्ने बताउनुभयो ।