• १३ मंसिर २०८१, बिहिबार

वराहक्षेत्र नगरपालिकाको आठौँ स्थापना दिवस सम्पन्न

blog

रोड रेस प्रतियोगितामा प्रथम हुनेलाई पुरस्कार वितरण गरिँदै । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की  

वराहक्षेत्र, फागुन २८ गते । वराहक्षेत्र नगरपालिका स्थापना भएको अवसरमा नगरपालिकाको आठौँ स्थापना दिवस तीन दिनसम्म विधिवत् कार्यक्रम गर्दै सम्पन्न भएको छ । 

पालिकाले फागुन २६, २७ र २८ गते नगर क्षेत्रमा विभिन्न कार्यक्रम गरेर दिवस मनाएको नगर प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थापना दिवसको अवसरमा फागुन २६ गते नगरपालिका प्राङ्गणमा रक्तदान, कुम्भमेला र रोडरेस विषयमा वक्तृत्वकला प्रतियोगिता गरिएको थियो । पालिकाले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ पिन्ट रगत सङ्कलन भएको थियो ।  

‘नेपालमा कुम्भ मेला’ विषयक माध्यमिक विद्यालय स्तरीय वतृत्वकला प्रतियोगितामा वडा नम्बर–१ चतरामा रहेको राधाकृष्ण संस्कृति गुरुकुलमा माध्यमिक विद्यालयका सुशन आचार्य प्रथम हुनुभएको थियो । महेन्द्र मावि तित्रिगाछिकी उषा भट्टराई द्वितीय र महेन्द्र मावि चक्रघट्टीका तारानाथ चौलागाईं तृतीय हुनुभएको थियो । 

त्यस्तै रोड रेस प्रतियोगितामा पुरुषतर्फ वराहक्षेत्र ७ का कुल बहादुर बस्नेत प्रथम हुनुभएको छ । उहाँले दश किलोमिटरको दुरी ३८ मिनेटमा पार गर्नुभएको थियो । त्यस्तै ३९ मिनेटमा ४ सेकेन्डमा दुरी पार गर्दे वराहक्षेत्र ७ कै सूर्य तामाङ दोस्रो र वडा नम्बर ८ का दुर्गा खुलालले ४० मिनेटमा पार गर्दै तेस्रो हुनुभएको हो । 

प्रथम भएका कुलबहादुरले नगर १० हजार, दोस्रो भएका सूर्यले नगद ७ हजार र तेस्रो भएका दुर्गाले नगद ५ हजार सहित मेडल, प्रमाण पत्र प्राप्त गर्नुभएको छ । महिलातर्फ निर्धारित ५ किलोमिटरको दुरी २८ मिनेटमा पार गर्दै वडा नम्बर ८ कि तुलना खड्का प्रथम हुनु भएको थियो । २९ मिनेट ५० सेकेण्डमा पार गर्दै वडा नम्बर ७ कि रिना खङ्ग दोस्रो र निर्धारित दुरी ३३ मिनेटमा पार गर्दै वडा नम्बर ८ कि लक्ष्मी राई तेस्रो हुनुभएको थियो । प्रथम भएकी तुलसा, दोस्रो भएकी रिना र तेस्रो भएकी लक्ष्मीले क्रमशः नगद ७ हजार, ५ हजार र नगद ३ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नुभएको छ ।

कार्यक्रममा उत्कृष्ट हुनेहरूलाई नगर प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र मल्लले नगद सहित प्रमाण पत्र हस्तान्तरण गर्नुभएको हो ।  

तीन दिनसम्म नगरपालिकाको सबै कार्यालयहरूमा दीप प्रज्वलन गरिएको छ । सामाजिक विकास शाखाले वडा नम्बर १ चतराधाम कुम्भ मेला स्थलमा बृहत् सरसफाइ र स्वास्थ्य शिविर सञ्चालन गर्ने र नगर खेलकुद विकास समितिको आयोजनामा रोड रेस प्रतियोगिता गरिएको पालिकाले जनाएको छ ।

२०७३ साल फागुन २७ गते साबिकका पाँचवटा वराहक्षेत्र, भरौला, महेन्द्रनगर, प्रकाशपुर र मधुवन गाउँ विकास समिति मिलेर वराहक्षेत्र नगरपालिका स्थापना भएको थियो ।