• २५ वैशाख २०८१, मङ्गलबार

तिलोत्तमामा ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’ उद्घाटन

blog

एक्स्ट्राटेक ओभल क्रिकेट मैदान उद्घाटन गर्दै लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन लगायत । तस्बिर : गोरखापत्र

कपिल ज्ञवाली

सिद्धार्थनगर,फागुन २८ गते । रुपन्देहीको तिलोत्तमामा नौ महिनामै तयार भएको अन्तर्राष्ट्रिय स्तरको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सोमबार एक कार्यक्रमका बिच मैदानको उद्घाटन गर्नुभयो ।

तिलोत्तमा नगरपालिका–१७ पूर्व दरखसवामा गत जेठमा शिलान्यास भएको रङ्गशालाको पहिलो चरणको काम अन्तर्गतको खेल मैदानको काम नौ महिनामै तयार भएपछि सोमबार उद्घाटन गरिएको हो ।

मैदानको उद्घाटन गर्दै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले तिलोत्तमामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न,खेलाडी उत्पादन गर्न सहज हुने बताउनुभयो । उहाँले यस्तो काममा सबैको साथ जरुरी रहेको बताउनुभयो ।

पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले आर्थिक राजधानीको रूपमा विकास भएको रुपन्देहीमा निजी क्षेत्रबाट निर्माण भएको रङ्गशालाले रुपन्देहीमा लगानी मैत्री वातावरण छ भन्ने पुष्टि गरेको बताउनुभयो ।

सो अवसरमा पूर्वमन्त्री एवं सांसद छविलाल विश्वकर्मा, पूर्वमन्त्री एवं सांसद गोकर्ण विष्ट, कांग्रेस नेता एवं सङ्घीय सांसद डा.चन्द्र भण्डारी, सांसद वासुदेव घिमिरे, तिलोत्तमा नगर प्रमुख रामकृष्ण खांण, नेपाल क्रिकेट सङ्घका उपाध्यक्ष रोशन सिंहलगायतले बोल्दै रङ्गशाला निर्माणले क्रिकेटको उर्वरभूमि रुपन्देहीलाई विश्वभर चिनाउन थप मद्दत पुगेको धारणा राख्नुभयो । खेल पर्यटनको माध्यमबाट जिल्लाको आर्थिक समृद्धिमा टेवा पुग्ने उहाँहरुकोे भनाइ थियो ।

उद्घाटनसँगै टी–१० प्रतियोगिता 

यसैबिच तिलोत्तमा–१७ मा नवनिर्मित मैदान उद्घाटनसँगै एक्स्ट्राटेक लिजेन्डस् कप टी–१० प्रतियोगिता सुरु भएको छ । पहिलो खेल सन् १९९६ र सन् २०१४ मा मुलुकबाट अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्ने टिमबिच भइरहेको छ । सन् १९९६ को टिमको नेतृत्व एलबी क्षेत्री र सन् २०१४ टिमको नेतृत्व पूर्व राष्ट्रिय क्याप्टेन पारस खड्काले गरिरहनुभएको छ ।

एकदिने प्रतियोगितामा लिजेन्ड्स ९६, रेस्ट अफ नेपाल, विश्वकप सन् २०१४ र रुपन्देही लिजेन्ड्स गरी चारवटा टोलीले प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्दाको सहभागी खेलाडीको टोली लिजेन्ड्स ९६, विश्वकप सन् २०१४ मा सहभागी टोली, रेस्ट अफ नेपाल तथा रुपन्देही लिजेन्ड्स टोली सहभागी छन् ।

गुल्मीका विनोद कुँवरले अष्ट्रेलियामा ‘एक्स्ट्राटेक ओभल प्रालि’ नामको सूचना प्रविधि (आइटी)सम्बन्धी ट्रेनिङ इन्स्टिच्युट सञ्चालन गर्नुहुन्छ । उहाँले मैदान निर्माणमा सात करोड खर्च भएको बताउनुभयो ।

अब १८ करोड रुपियाँको लागतमा प्याराफिटको काम थालिएको बताउनुभयो । पाँच वर्षमा २५ हजार क्षमतासहितको रङ्गशाला पूरा गर्ने योजना रहेको कुँवरको भनाइ छ । कुँवर दम्पतीले ४० करोड रुपियाँ लगानी गर्ने गरी अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउनुभएको हो ।