• १२ मंसिर २०८१, बुधबार

देवीदेवताका थान गरिबको ‘न्यायालय’

blog

हरिकृष्ण ऐडी

मुगु, फागुन २७ गते । न्यायका लागि अदातल पुग्न नसक्ने ग्रामीण क्षेत्रका बासिन्दा भाकलसहित देवताको थानमा पुग्ने गरेका छन् । गाउँमा हुने चोरी, जग्गाका साँध सिमाना, गाली बेइज्जती, थिचोमिचो र कुटपिटका घटनामा न्याय माग्दै स्थानीयले देवीदेवतालाई भाकल गर्ने चलन रहिआएको छ ।

अदालती न्याय प्रणालीभन्दा ग्रामीण भेगका विभिन्न देवीदेवताप्रति बढी विश्वास मान्ने गरिएको छ । अड्डा अदालतमा टाठाबाठा र हुनेखाने मात्र जान्छन्, गरिबको न्यायालय भनेको नै देवीदेवताका थान हुने गरेको स्थानीय बताउँछन् । छायानाथ रारा नगरपालिका–६ का ७२ वर्षीय कर्णबहादुर ऐडीले बिनारुपियाँ र प्रक्रियामा जतिबेला पनि गाउँका प्रसिद्ध गुरादेवको थानमा आफूले न्याय पाउने गरेको बताउनुहुन्छ । 

गाउँघरकै देवीदेवताका थान आफूहरू जस्ता गरिब र विपन्नको न्यायालय भएको उहाँको भनाइ छ । गाउँघरमा केही चोरीका घटना भएमा, विपक्षले अन्याय गरेमा वा वादविवाद निम्तिएमा जिल्लाको गुरादेव, रुमविजयी, थार्प मष्टा, भिगुरा देवताका थानमा गएर भाकल गरेमा दुधको दुध, पानीको पानी छुट्टिने गरेको छायानाथका भक्तबहादुर मल्लले बताउनुभयो । मल्ल मात्र हैनन्, यहाँका ग्रामीण क्षेत्रका नागरिक अझै पनि देवीदेवताप्रति विश्वास गर्दै आएका छन् । छायानाथ रारा नगरपालिका– ६ का स्थानीय टोपबहादुर भामले मुद्दा मामिला भनेको त हुनेखानेका लागि मात्र रहेको भन्दै आफूजस्ता निमुखाका लागि थान नै अदालत भएको जनाउनुभयो ।

गाउँका सोझासाझा नागरिकलाई यिनै देवीदेवताले न्याय दिने गरेको दाबी उहाँको छ । समुदायको धर्म, संस्कृति अनुसार विवाह, व्रतबन्ध, लगन र साइत जस्ता कामका लागि ग्रामीण बस्तीका धामीझाँक्रीलाई नै गुहार्ने चलन छ । पीडितले न्याय पाउनलाई भाकल गरेमा देवताले न्याय दिने हुँदा त्यही देवीदेवताको डरले यहाँका बासिन्दा अपराध गर्न हिचकिचाउँछन् । परम्परादेखि पुजिँदै आएका थार्प मष्टा, गुरादेव, रुम विजयी, भिगुरादेव, कैलाश, महादेव, खापरलगायत थान (मन्दिर) मा धामीले अन्याय परेकालाई न्याय दिने जनविश्वास गरिन्छ ।