गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द आचार्यले राजनीतिक तथा वैचारिक मतभेदका कारण नेपाली कांग्रेससँगको सहकार्य टुटेको बताउनुभएको छ । पछिल्लो राजनीतिक समीकरण भएपछि राजनीतिक वृत्तमा देखिएका विविध पक्षबारे राष्ट्रिय समाचार समिति (रासस) ले गरेको सङ्क्षिप्त कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।
कांग्रेससँगको सत्ता गठबन्धन रातारात टुटेको होइन भन्दै उहाँले यसका पछाडि कांग्रेससँग केही राजनीतिक, वैचारिक, सैद्धान्तिक र व्यावहारिक मतभेदहरू रहेका बताउनुभयो । “मुख्य रूपमा राजनीतिक वैचारिक मतभेद उत्पन्न भएपछि अब कांग्रेससँग टाँसिएर रहनुहुँदैन भन्ने अवस्था सिर्जना हुन पुगेको हो,” उहाँले रासससँग भन्नुभएको छ, “कांग्रेससँग गठबन्धन टुट्नुका पछाडि केही व्यावहारिक जटिलता र कारण पनि छन् तर ती मुख्य होइनन् ।”
खास गरी यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा भएको कांग्रेसको नीति महाधिवेशनका रूपमा लिइने महासमिति बैठकमा प्रस्तुत भई सर्वसम्मत रूपमा पारित भएका दस्ताबेजमा माओवादीसहितका दलसँग गठबन्धनको औचित्यमाथि प्रश्न उठाउँदै गठबन्धन नगर्ने सैद्धान्तिक निर्णय गरेपछि माओवादी कांग्रेससँगै टाँसिइरहनु राजनीतिक रूपमै गलत हुने उहाँको धारणा छ । उहाँले भन्नुभएको छ– त्यसमाथि महासमितिमा उपप्रधानमन्त्रीसमेत रहनुभएका उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरी पारित भएको नीति प्रतिवेदनमा माओवादीलाई ‘दृश्य अदृश्य शक्तिकेन्द्रको आडमा २०४७ सालको संविधान र व्यवस्थाविरुद्ध लागेको अतिवादी शक्ति’ का रूपमा चित्रण गरिएको छ । अहिले सहकार्य भइरहेको दलमाथि यसखालको आक्षेप लगाउनु जरुरी नै थिएन । उक्त नीति प्रतिवेदनको पृष्ठ २० मा ‘माओवादीका कारण देश दलदलको भासमा पुगी पछाडि धकेलिएको’ भन्दै २०४७ सालको संविधान र तत्कालीन राजतन्त्रात्मक व्यवस्था नै ठिक रहेको आशय व्यक्त गरिएको छ ।” त्यसैले कांग्रेससँगको सत्ता गठबन्धन रातारात तोडिएको होइन र यसका पछाडि राजनीतिक र वैचारिक मतभेद नै मुख्य हो । यसमा कांग्रेस नै जिम्मेवार रहेको स्पष्ट हुन्छ ।
आचार्यले यी प्रश्नहरूले माओवादी पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीलाई उक्त पार्टीसँगको सहकार्यबारे गम्भीर रूपमा सोच्नुपर्ने ठाउँमा पु¥याएको बताउनुभएको छ । “राजनीतिक रूपमा अहिले माओवादी जुन ठाउँमा खडा छ, त्यसका आधार जनयुद्ध नै हो । अहिलेको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र पनि माओवादी जनयुद्धकै जगमा खडा भएको हो,” आचार्यले भन्नुभएको छ, “कांग्रेसले माओवादी जनयुद्धलाई पूरै अवमूल्यन गरेर जनयुद्धकालमा सरकारमा बसेर माओवादीमाथि आतङ्ककारी घोषणा गरी दमन गरिरहेको अवस्थामा झैँ चित्रण गर्नु र २०४७ सालको संविधानको बचाउ गर्नुले कांग्रेसले प्रतिगमन त रोजेन भन्ने आशङ्कालाई ठाउँ दिएको छ नि । यसमा कांग्रेसका विद्वान् नेताहरूको किन ध्यान गएन ? माओवादी पार्टी समग्र माओवादी आन्दोलन र त्यसको नेतृत्वमाथि कांग्रेसले आरोप लगाइरहँदा उसैसँग टाँसिइरहनु सम्भव नै थिएन ।”
यस्तो अवस्थामा माओवादीका सामु तीन वटा विकल्प भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पहिलो त कांग्रेसको समर्थनमा प्रधानमन्त्री पद सुरक्षित बनाउन कांग्रेसले जेजस्तो निर्णय गरे पनि प्रतिव्रिmयाविहीन रूपमा बसिरहनु, दोस्रो यसको विरोध गर्दै प्रधानमन्त्रीबाटै राजीनामा गरेर भाग्नु र तेस्रो कांग्रेसबाहेक अहिलेको संविधान र व्यवस्थाका पक्षमा रहेका अन्य दलको समर्थन प्राप्त गरेर अघि बढ्नु । प्रधानमन्त्रीज्यूले कांग्रेससँग झुकेर पदमा बसिरहने वा राजीनामा दिएर देश र जनताप्रतिको जिम्मेवारीबाट भाग्ने बाटो रोज्नुभएन ।”
कांग्रेससँगको गठबन्धनबाट माओवादीलाई घाटा र कांग्रेसलाई नाफा मात्र भइरहेको उल्लेख गर्दै अन्तर्वार्तामा उहाँले सङ्घ, प्रदेश र स्थानीय तहका निर्वाचनमा कांग्रेस माओवादीसँग मिल्दा पहिलो दल बनेको, यसअघि उसले पाएको सिटभन्दा झन्डै तेब्बर सिट बढाएको तर माओवादी भने पहिलेभन्दा खुम्चिएको उल्लेख गर्नुभएको छ । चुनाव सम्पन्न भइसकेपछि पनि कांग्रेसले चुनावअघि माओवादीसँग भएको राजनीतिक सहमति तोडेर बेइमानी र धोका दिएको उहाँको आरोप छ ।
कोशी प्रदेशमा दुई पटक माओवादीलाई धोका दिइएको उल्लेख गर्दै उहाँले कांग्रेसलाई माओवादीले धोका दियो भन्नु गलत हुने बताउनुभयो । “वास्तविक अर्थमा भन्ने हो भने राजनीतिक बेइमानी र धोका दिने काम कांग्रेसले गरेको हो, जसलाई घटनाव्रmमले नै पुष्टि गर्दछन्,” उहाँले भन्नुभयो, “आफैँ पटक पटक माओवादीलाई धोका दिने, सरकार सञ्चालनमा पनि असहयोग गर्ने तथा राजनीतिक प्रतिवेदन नै पास गरेर माओवादीमाथि आरोप थोपर्ने कांग्रेसले अरूमाथि यस्ता आरोप लगाउँदा आत्मरति त होला तर वास्तविकतासँग भने मेल खाँदैन ।”
नयाँ गठबन्धन कुनै बाह्य देश वा शक्तिको पक्ष वा विपक्षमा बनेको होइन भन्दै उहाँले यो नेपाल र नेपाली जनताको हितमा बनाइएको बताउनुभयो । प्रधानमन्त्रीले समयमै एमाले, रास्वपा, राजपा र एकीकृत समाजवादीसहितका पार्टीसँग गठबन्धन नगरेको भए देश थप अस्थिरतामा जाने उल्लेख गर्दै उहाँले नेपालको आन्तरिक राजनीतिक मामिलामा बाहिरी शक्तिलाई जोड्नु आवश्यक नरहेको बताउनुभएको छ ।
सैद्धान्तिक रूपमा पनि नयाँ गठबन्धन स्वाभाविक देखिने उल्लेख गर्दै उहाँले भन्नुभयो, “जसले माओवादी अध्यक्ष प्रचण्डलाई तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनायो, तिनै शक्ति अहिले यो गठबन्धनमा छन् । खास गरी गठबन्धनको सबैभन्दा ठुलो दल नेकपा (एमाले) का अध्यक्ष केपी ओलीसहितका नेताहरूले गठबन्धन बनाउन र यसलाई अघि बढाउन जसरी पहलकदमी लिइरहनुभएको छ, यसले गठबन्धन लामो समयसम्म जाने स्पष्ट पार्दछ ।”
यो गठबन्धन कुर्सीका लागि नभई देश र जनताका पक्षमा काम गर्ने उद्देश्यका साथ बनेको उल्लेख गर्दै उहाँले निश्चित राजनीतिक वैचारिक धरातलमा खडा भएकाले आगामी निर्वाचनसम्म ढुक्क भएर यो गठबन्धन चल्ने बताउनुएको छ । यही गठबन्धनले नै २०८४ सालको निर्वाचन पनि गराउने उहाँको धारणा छ ।