• १६ भदौ २०८१, आइतबार

पीडितले रुचाएनन् नमुना बस्ती

blog

रमेशकुमार बोगटी 

कालीकोट, फागुन २५ गते । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–४, सुन्दरखालमा नमुना बस्ती निर्माण गरिएको चार वर्ष भए पनि मानिसलाई त्यहाँ बस्ने रुचि नै हुँदैन । आधारभूत सेवा उपलब्ध नभएका कारण उनीहरू परम्परागत र जोखिमयुक्त बस्तीतिरै आकर्षित हुन थालेका छन् । 

बस्तीमा विद्यालय एउटा मात्रै छ । अझै पनि खानेपानी, स्वास्थ्य, विद्युत, यातायातलगायतका आधारभूत सेवासुविधा पुर्‍याइएको छैन । नमुना बस्तीमा निर्माण गरिनुपर्ने सेवासुविधा नहुँदा बस्तीमा बसोबास गर्ने समुदायको सङ्ख्या घट्दो छ । सो बस्तीमा सडक, विद्युत, खानेपानी जस्ता सेवासुविधा नहुँदा बस्तीका बासिन्दा सुविधायुक्त गाउँतिरै बस्ने गरेका छन् । 

स्थानीय मनीष देउवाका अनुसार सुन्दरखालमा पहिरोपीडित २४२ घरपरिवारका लागि नमुना घर निर्माण गर्ने भनिए पनि १३४ घर मात्र निर्माण गरिए । गाउँको विद्यालय त्यहाँ सारेर पढाइ सुरु गरियो । अहिले भनेजति घरपरिवारका लागि घर बनाइएको छैन ।

नरहरिनाथ गाउँपालिका–४ का बासिन्दा अर्जुन सहकारीले अन्य सेवासुविधा नहुँदा आफूहरूलाई त्यहाँ बस्न निकै असहज भएको बताउनुभयो । उहाँका अनुसार खेतीपाती गर्ने जमिन पनि गाउँमै भएकाले प्रायः मानिस गाउँमै जोखिमयुक्त ठाउँमा बस्दै आएका छन् । उक्त बस्तीमा सडक, विद्युत, खानेपानी जस्ता सेवासुविधा पुर्‍याउन प्रदेश सरकारले बजेट विनियोजनसमेत गरेको छैन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दराम सहकारीका अनुसार नमुना बस्तीमा कक्षा १० सम्मको विद्यालय सञ्चालनमा छ । विद्यार्थी २३५ जना छन् । बस्तीमा हिउँदको समयभन्दा बर्सात्को समयमा बसोबास गर्नेको सङ्ख्या बढ्ने गरेको छ । सुन्दरखाल नमुना बस्तीदेखि अछामको रामारोशन ताल पुग्न पाँच किलोमिटर मात्र छ । त्यहाँ सडक पुर्‍याउन सकिए रारादेखि रामारोशनसम्म पर्यटकीय मार्ग बन्न सक्ने भएकाले नमुना बस्तीलाई घरबासका रूपमा प्रयोग गरिए त्यहाँको आयस्रोत वृद्धि हुने अपेक्षा गरिएको छ । 

नरहरिनाथ गाउँपालिका–४ का वडाध्यक्ष नन्दराम सहकारीका अनुसार २०७७ सालको वर्षाले विस्थापित २४२ घरपरिवारका लागि रुप्साकै सुन्दरखालको लेकाली डाँडामा बस्ती निर्माण गरिएको थियो । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा ६९ लाख, आव २०७८/७९ मा एक करोड ८० लाख छट्याएर १४३ आवास मात्रै निर्माण गरिएका छन् । बजेट अभावले बाँकी आवास निर्माण बाँकी रहेको बताइन्छ ।