• २० पुस २०८१, शनिबार

ओलीप्रति आशावादी छौँ : महासचिव चन्द

blog

पत्रकारसँग कुरा गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्द । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, फागुन २४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले आफू नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति देशको समृद्धिप्रति आशावादी रहेको बताउनुभएको छ । 

अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला आफ्ना गिरफ्तार भएका नेता कार्यकर्ताको रिहाइको प्रक्रिया सुरु गरेकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो । अहिले पुनः सत्ताको प्रमुख घटक एमाले भएकाले आफू र आफ्नो पार्टी उहाँप्रति आशावादी रहेको प्रतिक्रिया दिनुभयो ।  

पार्टी कामको सिलसिलामा कालीकोट पुग्नुभएका महासचिव चन्दले पत्रकारसँग कुरा गर्दै सो कुरा बताउनुभयो । नेता चन्दले अब धेरै सहज भएको सुनाउँदै एमाले अध्यक्ष नेतृत्वमा सरकार हुँदा तीन बुँदे सहमति भए पनि विदेशी प्रतिक्रियावादीका कारणले ओली सरकार ढलेको सुनाउनुभयो । 

“हाम्रो सबैको चाहना कम्युनिष्ट एक हौँ भन्ने हो । पछिल्लो सरकार पनि त्यही पृष्ठभूमिको भएकाले समाजवादी मोर्चाले झन् गति लिन्छ” उहाँले भन्नुभयो, “एमाले सरकारमा गएपछि हाम्रा तीन जना नेता जेलमुक्त भएका थिए, अहिले पुनः यो गठबन्धनको ठुलो दल एमाले आएको छ, त्यसैले ओलीप्रति अझ विश्वास बढेको छ ।”