• १४ मंसिर २०८१, शुक्रबार

उपलब्धिमाथि खतरा उत्पन्न हुँदा गठबन्धन फेरियो : उपाध्यक्ष सापकोटा

blog

सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका उपाध्यक्ष सापकोटा । तस्बिरः सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन २४ गते । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाले ठुलो त्याग र बलिदानबाट प्राप्त भएका उपलब्धिमाथि खतरा उत्पन्न भएपछि गठबन्धन परिवर्तन गर्नुपरेको बताउनुभएको छ।

प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको मिडिया सम्मेलनको बिहीबार बाँकेको कोहलपुरमा उद्घाटन गर्दै  उहाँले सो कुरा बताउनुभएको हो । गठबन्धनमा रहेको नेपाली काँग्रेसबाटै संविधान, धर्म निरपेक्षता र गणतन्त्रमाथि खतरा उत्पन्न भएपछि अर्को गठबन्धनको बाध्यता आएको उहाँले चर्चा गर्नुभयो । 

उहाँले भन्नुभयो, “शान्ति सम्झौताको सुरुवातदेखिकै एक महत्त्वपूर्ण सहयात्री नेपाली काँग्रेसले नै शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नदिने देखियो, अनि कसरी सहकार्य र समन्वय गर्न सकिन्थ्यो ?”

माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाले अहिलेको गठबन्धन प्रगतिशील गठबन्धन भएको दाबी गर्दै यो गठबन्धन अगाडि बढ्दै गएर बृहत् वामपन्थी एकताबाट यसले शक्तिशाली कम्युनिष्ट पार्टीको गठन हुने बताउनुभयो । उहाँले समाजवादको कुनै पनि विकल्प नरहेको जनाउँदै माओवादी आन्दोलनको अन्तिम लक्ष्य भनेको नै समाजवाद भएको प्रष्ट पार्नुभयो ।

गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षताको रक्षाका लागि नेपालको मिडियाले फेरि पनि ठुलो भूमिका निर्वाह गर्ने बेला आएको जनाउँदै नेता सापकोटाले त्यसको नेतृत्व प्रेस सेन्टरले गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुप्रसाद सापकोटा ‘जुगल’ ले अहिले नेपाली मिडिया एक चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेकाले सबैले सचेत भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपाली पत्रकारको पेसागत सुरक्षा र जीविकोपार्जन अहिलेको सबैभन्दा बढी अहम् विषय बनेको बताउनुभयो । नयाँ मिडियाले गर्दा परम्परागत मिडिया बन्द हुन थालेकाले पत्रकारहरू पनि सङ्कटमा परेको उहाँको भनाइ छ ।

सो कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य महेश्वर गहतराज, माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बराल, सचिव कृष्ण अधिकारी, प्रेस सेन्टर नेपालका उपाध्यक्षहरू निर्मल ज्ञवाली, अजयदिप शर्मा, महासचिव सन्तोष पौडेल, सल्लाहकार खिलबहादुर कार्की, प्रेस सेन्टर लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह बिक लगायत प्रेस चौतारी र प्रेस युनियनका नेताहरू तथा अग्रज पत्रकारले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

दुई दिनसम्म चल्ने सो मिडिया सम्मेलनमा लुम्बिनी प्रदेशको १२ जिल्लाका प्रेस सेन्टर आबद्ध पत्रकार र केन्द्रीय नेताहरू गरेर करिब २०० जनाको सहभागिता रहेको छ।