• ११ मंसिर २०८१, मङ्गलबार

बालिकालाई गर्भवती बनाउनेलाई १२ वर्ष कैद

blog

इलाम, फागुन २४ गते । बालिका बलात्कार गर्ने माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ । बालिकालाई बलात्कार गरी गर्भवती बनाएको कसुरमा दिलबहादुरलाई अदालतले १२ वर्ष कैदसहित पाँच लाख जरिवाना र पीडित राहत कोषमा २० हजार जम्मा गर्नुपर्ने फैसला गरेको हो ।

अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सो फैसला गरेको हो । दिलबहादुरसहित अन्य दुई जनाले बालिकामाथि पटक-पटक करणी गरेको भन्दै वि.सं २०७९ वैशाख १६ र जेठ २९ मा प्रहरीमा बेग्लाबेग्लै जाहेरी परेका थिए । वि.सं २०७९ असार २९ मा इलाम अस्पतालले पीडित बालिकाको गर्भ रहेको पुष्टि गरेको थियो । घटनाबारे २०७९ साउन १९ मा अदालतमा छुट्टाछुट्टै मुद्दाको अभियोग दर्ता भएको थियो ।

गर्भवती बालिका, गर्भपतन गराइएको शिशु र दिलबहादुरको डियोक्सिराइबो न्यूक्लिक एसिड (डिएनए) विधिविज्ञान प्रयोगशालामा परीक्षण गराउँदा मिलेको रिपोर्ट आएको अदालतले जनाएको छ ।

अदालतले यही फागुन १५ गते दिलबहादुरको कसुर ठहर गरेको थियो । फैसलापछि दिलबहादुरलाई कारागार चलान गरिएको छ । घटनाका थप दुई आरोपी भने बालिकामाथि करणी गरेको पुष्टि नभएपछि सफाइ पाएका छन् । रासस