• २ असार २०८१, आइतबार

ट्राफिक डमीको अवस्था बेहाल

blog

धनुषाको लालगढस्थित ट्राफिक प्रहरी कार्यालय अगाडि राखिएको ट्राफिक डमी । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, फागुन २४ गते । 
पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको लालगढस्थित ट्राफिक प्रहरी कार्यालय अगाडि राखिएको ट्राफिक डमीको अवस्था बेहाल छ । सवारी दुर्घटना न्यूनीकरणमा सघाउ पुग्ने उद्देश्यले राखिएको ट्राफिक डमीको अवस्था बेहाल देखिएको हो ।

डमीलाई लगाइदिएको ट्राफिक प्रहरीकै टोपी, पेटी, टाई र पोसाकको रङ्ग खुइलिएर छ । घाम पानीको असरले ट्राफिक डमीको पोसाकको रङ्ग खुइलिएको एक जना ट्राफिक प्रहरीको भनाइ छ । ट्राफिक डमी देखेपछि सवारी नियमको सम्झना हुने र सवारी साधनको गति नियन्त्रण गर्न चालकलाई दबाब पुग्ने विश्वासले तीन वर्षअघि राजमार्ग छेउमा सो डमी राखिएको थियो ।

कोरोना महामारीका बेला सडकमा खटिने ट्राफिक प्रहरी क्वारेनटिन र आइसोलेसनमा बस्नुपरेकाले दैनिक कार्यमा जनशक्ति अभाव भएपछि ट्राफिक प्रहरी महाशाखाले सर्वसाधारणलाई ट्राफिक नियमको पालना गराउन सडकमा ट्राफिक डमी राख्ने अभियान चलाएको थियो ।

सोही अभियानअन्तर्गत धनुषा ट्राफिक प्रहरीले सचेतनाका साथै दुर्घटना न्यूनीकरण गर्न जिल्लाका विभिन्न स्थानमा डमी राखेको थियो । सो डमीहरूको ट्राफिक पोसाक धुलो मैला समेत भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक शेखर साहले एक/दुई दिनमै ट्राफिक डमीको पोसाक परिवर्तन गरिने बताउनुभयो ।